काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक सुरु हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा मंगलबारदेखि जारी बैठकमा पहिलो दिन सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणाबारे आफ्नो भनाइ राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।
आजको बैठकमा महामन्त्री पौडेलले प्रस्तुत गरेको कार्यसूचीमाथि छलफल हुने जनाइएको छ । कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषय समेटिएका छन् ।
संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियानका विषयमा छलफल हुनेछ । त्यस्तै, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय पनि बैठकको कार्यसूचीमा राखिएका छन् ।
त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।
















प्रतिक्रिया