९ मंसिर २०८३, बुधबार | November 25, 2026

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा



काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

यसअघि गत मंसिर ७ गते न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटको पेसी तोकिएको थियो। तर, नवनियुक्त आईजीपी डा। मनोजकुमार केसीले अदालतको म्याद बुझेको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन।

सर्वोच्च अदालतले मंसिर ४ गते आईजीपी केसीका नाममा म्याद जारी गरेको थियो। अदालतका तामेलदार म्याद बुझाउन प्रहरी प्रधान कार्यालय पुगेका बेला कार्यालयका कर्मचारीले सम्बन्धित व्यक्ति बैठकमा गएको भन्दै कार्यालय समयसम्म पर्खाएका थिए। तर, कार्यालय समय सकिँदासम्म पनि केसी उपस्थित नभएको र प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न इन्कार गरेपछि म्याद तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस गरिएको थियो।

त्यसपछि सुनुवाइका क्रममा प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित अधिवक्ताले प्राविधिक कारणले म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी भएमा बुझ्ने प्रतिबद्धता जनाएका थिए। सोही अनुरोधका आधारमा इजलासले प्रहरी प्रधान कार्यालयलाई प्रतिनिधित्व गर्ने अधिवक्तामार्फत म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको थियो।

कार्कीले आफूलाई प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत पदबाट हटाइएको दाबी गर्दै निर्णय बदर गरी प्रहरी महानिरीक्षक पदमा पुनर्बहालीको माग गरेका छन्। साथै, नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्न पनि उनले माग गरेका छन्।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। मंसिर २ गतेको उक्त इजलासले अल्पकालीन अन्तरिम आदेश भने जारी नगरी दुवै पक्षलाई छलफलका लागि मंसिर ७ गते बोलाएको थियो।

सरकारले कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकमार्फत कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। सोही बैठकले एआईजी डा। मनोजकुमार केसीलाई नयाँ आईजीपीमा बढुवा तथा नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अब आज हुने दुई पक्षीय सुनुवाइपछि नवनियुक्त आईजीपी डा। केसीको नियुक्ति तथा कामकाज रोक्ने गरी अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो लाग्नेछ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ९ : ५९ बजे

Your email address will not be published.

लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँबस्ती, ऐतिहासिक

दानबहादुर कार्कीको रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र र पर्यटन

झापा । इलामको रोङ गाउँपालिका-६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक

‘हथकडी’ लगाएर ल्याउने चेतावनीका बाबजुद बंगलादेश फर्किन किन चाहन्छिन् शेख हसिना ?

नयाँ दिल्ली। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू आगामी डिसेम्बर १६

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको