नेपालगन्ज । धारा नेपालगन्ज म्याराथन अन्तर्गत नेपालगन्ज कनक्लेभको पहिलो सत्र ‘खेल, पर्यटन र युवा ः सम्भावनाको नयाँ ढोका’ शीर्षकमा भएको छ ।
विशाल रानामगरले मोडरेटर गरेको कार्यक्रममा एभरेष्ट म्याराथनका सिइयो शिखर पाण्डे, नेपाली महिला क्रिकेट टीमकी पहिलो क्याप्टेन नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल दिपमाला ढकाल सहभागी थिए ।
नेपाली युवा आफ्नो सपना पूरा गर्न विदेश गइरहेकाबेला हङकङमा जन्मिएकी दिपमाला ढकाल भने आफ्नो सपना पूरा गर्न नेपाल आएको कार्यक्रममा बताइन् । दिपमालाले विदेशमा गएर होइन आफ्नै देशमा बसेर सपना पूरा गर्न आग्रह गरिन् । उनले आफ्नो सपना पूरा गर्न धेरै मेहनत गर्नुपर्ने बताउँदै हरेक दिन गर्ने गतिविधिले त्यसको निर्धारण गर्ने बताइन् । मिस नेपाल भनेको बाहिरी सुन्दरतामात्रै नभई यो जिम्मेवारीसहित सेल्फ कन्फिडेन्सको पदवी भएको बताइन् ।
नेपाली महिला क्रिकेट टीमकी पहिलो क्याप्टेन नेरी थापामगरले प्रतियोगिताहरु नहुँदा खेलाडी उत्पादन हुन नसकेको गुनासो गरिन् । १७ वर्ष क्रिकेटमा बिताएकी नेरीलाई खेलमा लाग्न सहज वातावरण थियो । घरपरिवारका सदस्यहरु नै खेल क्षेत्रमा लागेकाले नेरीलाई खेलमा आउन सहज भएको थियो । नेपाली महिला क्रिकेट टीम बन्दा नेरीसहित ७ जना बाँकेका थिए । अहिले राष्ट्रिय टीममा एक जना पनि नपर्दा आफूलाई दुःख लागेको नेरीले बताइन् । उनले यहाँ अन्तर्राष्ट्रियस्तरको मैदान नहुनु पनि खेल र खेलाडी पछाडी पर्नुको कारण भएको बताइन् ।
पर्यटन व्यवसायी केशव न्यौपानेले पर्यटन व्यवसायलाई बढाउन स्थायी सरकार र राम्रो नीति हुनुपर्ने बताए । उनले सरकारको नीतिले यो व्यवसायमा ठूलो प्रभाव पार्ने बताए । न्यौपानले संघर्ष बिना सफलता प्राप्त हुँदैन भन्दै अप्ठेरोमा गाडेको जरो बलियो हुँदा सिद्धार्थ हस्पिटालिटी नेपालकै अग्रणी बन्दै गएको बताए ।
एभरेष्ट म्याराथनका सिइयो शिखर पाण्डेले हिमालमा सञ्चारको सुविधा पुग्दा प्रतियोगिता गर्न सजिलो भएको बताए । उनले प्रतियोगिता हुँदा सुरक्षालाई ध्यानमा राखेर हेलिकोप्टर टीम नै तयारी अवस्थामा राख्ने गरेको सुनाए । पाण्डेले एभरेष्ट म्याराथनमा पर्यटन बढ्दै गएर अन्तराष्ट्रियस्तरको भएको पनि बताए ।
सेसनअघि कार्यक्रमबारेमा जानकारी दिदै नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले नेपालगन्जलाई विचार, विमर्श र अन्तरक्रियाको थलो बनाउने जमर्कोअन्तर्गत नेपालगन्ज कनक्लेभको सुरुवात गरेको बताएका थिए । उनले पुरानो सहर, धार्मिक, भाषिक विविधतालाई बोकेको नेपालगन्जलाई विचार, विमर्श, साहित्य र खेलकुदलाई जोडेर नेपालगन्ज कनक्लेभ र नेपालगन्ज म्याराथन गर्दै आएको बताए । नेपालले नेपालगन्ज कनक्लेभ र नेपालगन्ज म्याराथन यहाँको साझा कार्यक्रम भएको बताए ।
















प्रतिक्रिया