काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि एन-ट्याग (N-Tag) सेवा सञ्चालनमा ल्याएको छ ।
सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय (RFID) स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको एनट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुन्छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाएर समय र इन्धनको बचत गर्नुका साथै यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउँछ ।
ग्राहकहरूले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट N-Tag संकलन तथा सक्रिय गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि सर्वप्रथम सडक बोर्ड नेपालको पोर्टल (https://rbn.org.np) मा गई ‘Sign Up’ बाट व्यक्तिगत (Individual) वा संस्थागत (Organization) छनोट गरी मोबाइल नम्बर र इमेल राख्नुपर्छ तथा इमेलमा आएको भेरिफिकेसन कोड प्रविष्ट गरी पासवर्ड सेट गर्नुपर्छ । त्यसपछि व्यक्तिगत दर्ताका लागि पूरा नाम, ठेगाना, सम्पर्क विवरण र आधिकारिक परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी)को स्पष्ट कपी तथा संस्थागत दर्ताका लागि संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, आधिकारिक प्रतिनिधिको विवरण र संस्था दर्ता तथा प्यान र भ्याट प्रमाणपत्र अपलोड गर्नुपर्छ ।
लगत्तै पोर्टलमा लगइन गरी ‘Vehicle Registration’मा गएर ब्लुबुक अनुसारको सवारी विवरण र ब्लुबुकको कपी अपलोड गरी पेश गरेपछि प्राप्त हुने आवेदन दर्ता नम्बर (Submission No.) सहितको PDF फाइल डाउनलोड गरेर, डाउनलोड गरिएको कागजात सहित व्यक्तिगत दर्ताका लागि सक्कल नागरिकता र परिचयपत्र, ब्लुबुक र पासपोर्ट साइजको फोटो तथा संस्थागत दर्ताका लागि संस्था दर्ता प्रमाणपत्र, प्यान र भ्याट प्रमाणपत्र, ब्लुबुक र आधिकारिक प्रतिनिधिको परिचयपत्र लिएर नजिकैको सिद्धार्थ बैंकको शाखामा जानुपर्छ ।
बैंकले कागजात रुजु गरी सवारी नम्बरमा N-Tag आबद्ध गरेर भौतिक स्टिकर प्रदान गरेपछि पुनः पोर्टलमा लगइन गरी ‘Activate Tag’ बाट ट्याग सक्रिय (Activate) गर्नुपर्छ र उक्त स्टिकर सवारी साधनको अगाडिको सिसामा टाँस्नुपर्छ ।
ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ बाट घरमै बसी सहजै N-Tag रिचार्ज गर्न तथा सडक बोर्ड नेपालको मोबाइल एप र पोर्टलबाट आफ्नो मौज्दात र कारोबार विवरण हेर्न सक्छन् ।
एउटा N-Tag एउटा निश्चित सवारी साधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ र टोल लेन प्रयोग गर्नुअघि आफ्नो N-Tagमा पर्याप्त व्यालेन्स राख्नुपर्छ । यस सेवाको प्रयोगले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन हुनुका साथै निकट भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोलयुक्त राजमार्गहरूमा सर्वसाधारणको यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बन्ने विश्वास बैंकले लिएको छ ।
















प्रतिक्रिया