काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस हुने अपेक्षा व्यक्त गरेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्रीले ईपीजी प्रतिवेदन बुझ्न भारतीय प्रधानमन्त्रीले समय दिने विश्वास व्यक्त गरेका हुन् ।
‘ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ,’ प्रवक्ता पौडेलले भने ।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदन पुरानो र वर्तमान सन्दर्भमा असान्दर्भिक रहेको बताएका थिए । त्यसपछि नेपालले प्रतिवेदनको सान्दर्भिकता अझै कायम रहेको स्पष्ट पारेको हो ।
प्रवक्ता पौडेलले ईपीजी गठन हुनुका मूलभूत उद्देश्यहरू अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रतिवेदन पेस नभए पनि त्यसका उद्देश्यअनुसार द्विपक्षीय विषयमा दुवै पक्षले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने नेपालको विश्वास रहेको बताए ।
नेपाल र भारतबीच सन् २०१६ मा गठन भएको ईपीजीले सन् २०१८ मा प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन पहिले भारतका प्रधानमन्त्री र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय दिएका छैनन् ।
प्रतिवेदन लामो समयदेखि दराजमा थन्किएपछि ईपीजीका नेपाली संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्रमन्त्री शिशिर खनाललाई बुझाएका थिए ।
प्रवक्ता पौडेलले ईपीजीसम्बन्धी विषय परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्पष्ट पारेको जानकारी दिए ।
संयुक्त दृष्टिकोणपत्र र सीमा समस्या
पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त दृष्टिकोणपत्र ९ज्वाइन्ट भिजन पेपर० महत्वपूर्ण आधार बनेको बताए ।
नेपाल–भारत सीमा विवादका विषयमा दुवै पक्षले कूटनीतिक माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए ।
संयुक्त दृष्टिकोणपत्रमा नेपाल–भारत सीमाका संयुक्त स्तम्भको निरीक्षण, सीमा स्तम्भको मर्मतसम्भारलगायतका विषय समेटिएको उनले बताए । सीमासम्बन्धी बाँकी विषय अघि बढाउन दुवै देशका प्रधानमन्त्रीले परराष्ट्र सचिवहरूलाई निर्देशनसमेत दिएको प्रवक्ता पौडेलले उल्लेख गरे ।
‘द्विपक्षीय रूपमा स्थापित सीमा सम्बन्धी संयन्त्रहरूमार्फत कूटनीतिक समाधान निकाल्न दुवै पक्षको प्रतिबद्धता जाहेर भएको छ,’ उनले भने ।
नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा बस्ने तथा लामो समयदेखि थाती रहेका सीमा सम्बन्धी विषयको कूटनीतिक समाधान प्रक्रिया अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे ।
















प्रतिक्रिया