बुटवल । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एमबीबीएस तथा इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मेधावी विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहका बीच विद्यार्थीहरुलाई नगद र मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कालिका मानवज्ञान माविबाट एमबीबीएसको पूर्ण छात्रवृत्तिमा ‘टप टेन’ ¥याङसहित २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । यस्तै बिएएमएसतर्फ आकाश मिश्र नेपाल प्रथम र इशान ज्ञवाली नेपाल द्वितिय हुन सफल भएका छन् भने बिएस्सी नर्सिङतर्फ ३ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।
एमबीबीएसतर्फ विद्यार्थी शिशिर मल्ल टप टेनमा परेका छन् । उनी एसईई परीक्षामा पनि कालिकाबाटै ४ जीपीएसहित उत्तीर्ण भएका थिए ।
देशभरबाट एमबीबीएसतर्फ ४०० जनाको कोटामा एउटै सामुदायिक विद्यालयबाट २२ जना र इन्जिनियरिङतर्फ ३० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्नु ठूलो उपलब्धी रहेको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए । महँगो मेडिकल शिक्षा अध्ययनका लागि बिद्यार्थीहरुले आफूलाई अब्बल साबित गर्न सफल भएको उनले बताए । बिभिन्न समस्या र चुनौतीका बीच पनि शिक्षक, विद्यार्थी र अभिभावकको अथक मेहेनतका कारण कालिकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उनको भनाई थियो ।
‘विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको हो,’ ज्ञवालीले भने । विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्यांकन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पुगेको बताए । उनका अनुसार कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख पन्थीले सामुदायिक विद्यालयमा शिक्षकले पढाउँदैनन्, पढाइ राम्रो हुँदैन भन्ने भाष्य चिर्दै कालिका मानवज्ञान मावि देशभरमै उत्कृष्ट हुन सफल भएको बताए । यस नतिजाले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छ भन्ने प्रमाणित गरेको उनले बताए ।
नेपालका सामुदायिक विद्यालयले पनि विश्वस्तरीय विद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने भन्दै उनले अब गुणस्तरीय शिक्षासँगै दक्ष जनशक्ती उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे ।
यस्तै कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पस प्रमुख घनश्याम पाठकले सामुदायिक विद्यालयतर्फ नमूना विद्यालयका रूपमा परिचित कालिका मानवज्ञान माविले एमबीबीएस तथा इन्जिनियरिङतर्फ प्राप्त गरेको सफलताले विद्यालयको शैक्षिक पहिचानलाई थप बलियो बनाएको बताए । आफू प्रअ हुँदा २०६५ सालमा प्लस टु सञ्चालन गरेको स्मरण गर्दै उनले सबैको साथ, सहयोग र सहकार्यबाट कालिका देशभरमै उत्कृष्ट विद्यालय बन्न सफल भएको उनको भनाई थियो । सफल हुनका लागि विद्यार्थीले अध्ययनसँगसँगै लगनशिलता र अनुशासनलाई पनि सँसँगै लैजानुपर्नेमा उनले जोड दिए ।
यस्तै कार्यक्रममा एमबीबीएसको पूर्ण छात्रवृत्तिमा ‘टप टेन’मा पर्न सफल बिद्यार्थी शिशिर मल्ल, इन्जिनियरिङतर्फ २७ नम्बरमा नाम निकाल्न सफल विद्यार्थी आरोहण तिवारीले बोल्दै निरन्तर मिहेनत गरेर अध्ययन गर्ने हो भने सफलता हात पार्न सकिने बताए । उनीहरुले कालिकामा अध्ययनका लागि उत्कृष्ट वातावरण रहेको उल्लेख गर्दै विद्यालयको थप सफलताको कामना गरे ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रमणि अर्याललगायतले बोल्दै कालिकाले किताविज्ञानसँगै उत्कृष्ट नतिजा र दक्ष जनशक्ती उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे । सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका क्याम्पसका अध्यक्ष होमबहादुर गलामी, शिक्षा विकास तथा समन्वय इकाईका शिक्षा शाखा अधिकृत झविलाल विक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन सह-प्राचार्य दिपक बञ्जाडेले गरेका थिए।कालिका देशभरमै सबैभन्दा धेरै विद्यार्थी पढ्ने सामुदायिक स्कुल हो । विद्यालयमा ८ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
















प्रतिक्रिया