बुटवल । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, लुम्बिनी क्षेत्रीय समिति बुटवलको अध्यक्षमा मोहन भण्डारी चयन भएका छन् ।
संघको शनिबार सम्पन्न १० औँ साधारणसभा तथा पाँचौँ अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा आनन्द कर्ण, सचिवमा रामप्रसाद भट्टराई, सहसचिवमा रमेश भट्टराई र कोषाध्यक्षमा नारायण मरासिनी चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा शिवराज गैरे, रमेश पौडेल, रामु पाण्डे, नवल घिमिरे, राजकुमार यादव र विष्णु गैरे चयन भएका छन् । लेखा समितिको संयोजकमा राजकुमार श्रेष्ठ तथा सदस्यमा नारायण कार्की र सुमित शिलवाल चयन भएका छन् ।
यसअघि साधारणसभालाई सम्बोधन गर्दै नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका केन्द्रीय अध्यक्ष विजेन्द्र विक्रम शाहले स्वदेशी मसलन्द तथा शैक्षिक सामग्री उद्योगको अस्तित्व संकटमा पर्दै गएको बताएका थिए । उनले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि राज्यले विशेष चासो दिनुपर्नेमा जोड दिए ।
विकास र भविष्यसँग जोडिएको स्वदेशी उद्योगको संरक्षणका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने उल्लेख गर्दै शाहले एकता, सक्रियता, आपसी विश्वास र संस्थाप्रतिको अपनत्वसहित अघि बढ्न व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा संघका अध्यक्ष विष्णु वाग्लेले भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मसलन्द तथा शैक्षिक सामग्रीसँग प्रतिस्पर्धा गर्नु स्वदेशी उद्योगका लागि चुनौतीपूर्ण बन्दै गएको बताए ।
त्यस्तै, आनन्द कर्णले बेनामे तथा गुणस्तरहीन सामग्री, अनियन्त्रित छुट र अस्वस्थ मूल्य प्रतिस्पर्धाका कारण उत्पादक, वितरक तथा व्यवसायी प्रभावित भइरहेको बताए ।
२०४७ सालमा स्थापना भएको संघले स्वदेशी मसलन्द तथा शैक्षिक सामग्री उद्योगको संरक्षण, प्रवर्द्धन र व्यवसायीको हकहितका क्षेत्रमा काम गर्दै आएको छ ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष सुनील गोपाल श्रेष्ठ, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष मेखबहादुर अधिकारी, प्रथम उपाध्यक्ष गणेशप्रसाद अधिकारी, लुम्बिनी प्रदेश इन्चार्ज कमल नेपाल, केन्द्रीय सदस्य राजेन्द्र महर्जन, प्रदेश सचिव रामप्रसाद भट्टराई तथा क्षेत्रीय सदस्य नारायणप्रसाद मरासिनीलगायतले बोलेका थिए ।
अधिवेशन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा मेखबहादुर अधिकारी तथा सदस्यमा कमल नेपाल र लक्ष्मण न्यौपाने रहेका थिए ।
















प्रतिक्रिया