काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनलाई सामान्य नभएको बताएका छन् ।
काठमाडौं क्षेत्र नंं. ७ मा वाम गठबन्धनको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
प्रचण्डले निर्वाचनमार्फत जनताले केही यक्ष प्रश्नको उत्तर दिनेबेला आएको बताए । उनले भने, ‘देशले जित्ने हो की होइन, संविधानले जित्ने हो की होइन, लोकतन्त्रले जित्ने हो की होइन भन्ने एउटा यक्ष प्रश्नको जवाफ जनताले दिने अवसर भएको छ मंसिर ४ गतेको निर्वाचनले । यसलाई गम्भीरतापूर्वक आत्मसाथ गरी जनताको बीचमा बुझाउन आवश्यक छ ।’
प्रचण्डले देशमा केही समयदेखि राजनीतिमा संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउने जमर्को देखापरेको जिकिर गरे । उनले एमालेप्रति लक्षित गर्दै संविधान मिच्ने र त्यसलाई निरंकुशता र अराजकताको भुमरितिर फेरि धकेल्ने कसरतहरु भैरहेको दाबी गरे । उनले प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको जिकिर गरे ।
प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । मानुषी यमि भट्टराई लगायतका युवा नेतृत्व संसदमा पुगेको खण्डमा ऐन, कानून निर्माणमा सहयोग हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिए ।
भट्टराईले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरु अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सह्य नहुने बताए । उनले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको जिकिर गरे । उनले प्रतिगमनलाई रोक्नका लागि पनि आगामी निर्वाचनमा गठबन्धनको विकल्प नभएको बताए ।



















प्रतिक्रिया