८ चैत्र २०८२, आइतबार | March 22, 2026

चुनावी एजेण्डा मात्रै बन्यो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना



ढोरपाटन । पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ ।

स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेण्डाका रुपमा यस आयोजनालाई राखेका हुन्छन् । झण्डै डेढदशक अगाडिदेखि जलाशययुक्त जलविद्युत् आयोजनाको चर्चा हुन थाले पनि अहिलेसम्म प्रगति शून्य प्रायः छ । यो आयोजना चुनावी एजेण्डा मात्रै बनेको छ ।

आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेकाले पनि आफ्नो घोषणा पत्रमा यो आयोजनालाई मुख्य प्राथमिकता दिएका छन् । तर मतदाता विश्वस्त हुन भने सकेका छैनन् । पटक–पटक जनतालाई ढाँटेर चुनाव जित्ने नेताले यो योजना पूरा नगर्ने स्थानीयवासी बताउँछन् । मुलुककै नमुना आयोजनाअन्तर्गत रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको काम सुरु गर्छौँ भनेको दशक बित्दा पनि केही प्रगति हुन नसकेको स्थानीयवासी मीनबहादुर कुँवरले बताए ।

उनले हरेक चुनावका बेला उम्मेदवारले आफ्नो कार्यकालमा यो योजनाको काम अगाडि बढाउने आश्वासन दिए पनि अहिलेसम्म जनताले अपेक्षा गरेअनुसारको काम नभएको गुनासो गरे । कुँवरले चुनावका बेला जनता झुक्याउने र भोट आफ्नो पक्षमा पार्न नेताहरुले अनेक भ्रम छर्ने गरेको भन्दै आफूहरुलाई अहिले विश्वास लाग्न छोडेको बताए ।

“यो उत्तर गङ्गा जलाशययुक्त आयोजना बनाउने भनेको वर्षौँ भयो, अहिलेसम्म कहाँ के भएको छ ?, सर्वेक्षण गर्ने काम के भयो, हुने नहुने केही अत्तोपत्तो छैन, नेताहरुले उही चुनाव आउँदा हामी बनाउँछौँ भनेर आउँछन्”, कुँवरले भने, “उहाँहरुले भन्दै आएको १०/१२ वर्ष भइसक्यो तर प्रगति केही छैन, उही चुनावमा जनताबाट भोट फकाउने माध्यम बन्यो, काम हुन सकेन, अब त विश्वास लाग्नै छाड्यो, अहिले बनाउँछौँ भन्छन्, फेरि अर्को चुनावमा पनि त्यही कुरा भन्छन् ।”

स्थानीय पुनराम विकले नेताहरुले अहिले पनि गाउँमा चुनावी कार्यक्रम गर्दा जलाशययुक्त जलविद्युत् बनाउने भाषण गर्ने गरेको बताए । उनले बुर्तिबाङदेखि ढोरपाटनसम्म पुग्ने सडक कालोपत्र गर्न नसक्ने नेताले जलाशययुक्त जलविद्युत्का बारेमा भाषण गरेर जनतालाई झुक्याउनु बाहेक अरु केही नभएको बताए ।

सुरु–सुरुमा विश्वास लागे पनि अहिले जनता झुक्याउने खेल भएको उनको भनाइ छ । “ढोरपाटन सिकार आरक्ष पुग्ने सडक हेर्नुस् त कस्तो अवस्था छ, त्यो सडक कालोपत्र गर्न नसक्ने नेताले त्यत्रो पहाड खोलेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्छौँ भन्छन्, पहिले–पहिले त गर्छन् होला, भन्ने लाग्थ्यो तर अहिले विश्वास लाग्न छाड्यो”, उनले भने, “चुनाव आयो की नेताको मुखमा यही उत्तरगङ्गा झुण्डिन्छ, यो भाषण सुन्दा सुन्दा हामी पनि वाक्क भइसक्यौँ, उनीहरुले भोट माग्न जनतालाई झुक्याउने खेलबाहेक केही हुनसक्दैन ।”

विकले ढोरपाटन पुग्ने पर्यटकले सडकका कारण वर्षौँदेखि सास्ती खेप्दै आएको भन्दै पहिले यो सडक बनाएपछि मात्रै जलाशययुक्त जलविद्युत्को काम हुनसक्ने बताउनुभयो । उनले सडक साँघुरो र अप्ठ्यारो हुँदा जलविद्युत्का लागि चाहिने आवश्यक उपकरण पु¥याउन नसकिने बताए । विक भन्छन्, “ढोरपाटनमा दैनिक पर्यटक जान्छन्, सडकका कारण उनीहरुले निकै सास्ती खेप्नु परेको छ, नेताहरुले यो सडक कालोपत्र त गर्न सकेका छैनन् भने हाइड्रोपावरको कुरा गर्छन्, हाइड्रोपावर बन्न सबैभन्दा पहिले यो सडक बन्नुपर्छ, यो सडक नबनेसम्म त्यहाँ आवश्यक उपकरण कसरी पु¥याउन सकिन्छ र काम हुन्छ रु, जनतालाई झुक्याउने पनि सीमा हुन्छ नि, यो सडकको हालत यस्तो छ, हाइड्रोपावर बनाउँछौँ भन्छन् ।”

ढोरपाटन–६ का खिमबहादुर घर्तीले अहिले निर्वाचनमा उम्मेदवार बनेका यस क्षेत्रका सबै उम्मेदवारले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनालाई मुख्य एजेण्डा बनाएको बताए । उनले आफूहरुले अहिलेसम्म जिताएर पठाएका प्रतिनिधिले संसद्मा पटक–पटक आवाज उठाए पनि कार्यान्वयन हुन नसकेको सुनाए । उम्मेदवारले महत्वकांक्षी एजेण्डा बनाउँदा काम गर्न नसकेको उनको भनाइ छ ।

“उत्तर गङ्गाका बारेमा धेरै पहिलेदेखि चर्चा हुँदै आएको हो, अहिले पनि चर्चा हुने गरेको छ, सर्वेक्षणको काम सुरु भयो भन्ने त सुनियो, तर कहाँ कति भयो भन्ने थाहा पाइएन, नेताहरुले भनेको बेला काम गरेको भए अहिलेसम्म त जनताले यहाँ उत्पादन भएको विद्युत् प्रयोग गर्न पाउँथे”, उनले भने, “अहिले त नेताको कुरा पत्याउनै छाडियो, चुनावका बेला यो गर्छौँ, त्यो गर्छौँ, भन्छन्, तर चुनाव जितेपछि कहाँ के गर्छन् थाहा हुँदैन ।”

ढोरपाटन–९ स्थित उत्तरगङ्गाको पानी निसीखोला गाउँपालिका–५ निसी गाउँको सम्पुमा खसाल्ने भनिएको छ । आयोजनालाई २०७६ असार १७ गते विद्युत् विकास विभागले आठ सय २८ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन अनुमति पत्र दिइसकेको छ । – रासस

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १ : ३४ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र