चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार भएको बताएका छन् ।
सोमबार बिहान प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्दै भ्रष्टाचारको जुनसुकै फाइल खोल्न तयार रहेको बताएका हुन् । प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई संकेत गर्दै भने, ‘तपाईं सरकारमा आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुप¥यो म तयार छु ।’
लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । उनले सो भेटमा आफुहरुलाई पुरानै मन्त्रालय दिए र भ्रष्टाचारको फाइल खोल्ने प्रतिवद्धता जनाए सरकारमा आउन तयार रहेको बताएका थिए । त्यसअघि भने लामिछानेले सरकारले आफ्ना कुरा सम्बोधन नगरे समर्थन फिर्ता लिने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलनमा लामिछाने सरकारमा आउने विषयमा लामिछाने सकारात्मक रहेको बताए । ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ ’ प्रचण्डले भने, ‘सरकारकामा सहभागी हुनेबारे उहाँले पनि आफ्नो पार्टीमा सल्लाह गर्ने र मैले पनि गठबन्धनमा छलफल गर्ने र केही दिनपछि फेरि भेट्ने र एउटा टुङ्गोमा पुग्ने भनेका छौं ।’
प्रचण्डले रास्वपाले पहिलाकै मन्त्रालय खोजे पनि त्यसैमा अडिने विश्वास आफुलाई नरहेको बताए । उनले सरकार पाँच वर्ष टिक्ने दाबी समेत गरे ।


















प्रतिक्रिया