२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

यसरी मनाइयो गोरखामा मकै सुकाउने पर्व



गोरखा । गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गए राति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् ।

ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ-आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए ।

सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ । “सोमबार साँझको जुनमा स्थानीयवासीले घर–घरबाट ल्याएका मकैलगायतका अन्न चन्द्रमाको प्रकाशमा सुकाएर मकै सुकाउने पर्व मनाइएको हो”, नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठले भने, “करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको हो ।”

कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए ।

परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए ।

मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले नेपालको परम्परा संस्कृतिमध्ये मकै सुकाउने पर्व पनि एक भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, गोरखा नगरपालिकाका पूर्वप्रमुख राजनराज पन्तलगायतले पर्वको महत्वका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ४४ बजे

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन