११ बैशाख २०८१, मंगलबार | April 23, 2024

बुटवल उपमहानगरका जनप्रतिनिधि दैलामा पुगेपछि सङ्क्रमितका आँखामा खुशीका आँशु



बुटवल । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य सोमबार वडा नं १३ को होम आइसोलेशनमा बसेका रुद्र आचार्यको घरमा पुगिन ।

कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमै बसेको उनको परिवारको मनोबल बढाउन नगर उपप्रमुख दैलामा आएपछि आचार्य छक्क परे ।

उपप्रमुख आचार्यले उहाँलाई उच्च मनोबल राख्न सके कोरोना भाइरस सङ्क्रमणले कुनै असर नगर्ने भन्दै उहाँको परिवारलाई सुस्वास्थ्यको शुभकामना दिए ।

“कोरोना लागेको भनेर मानिसहरु टाढाटाढा भाग्छन्, दैलोसम्म आउने आँट कसैले गर्दैनन् तर उपप्रमुख दैलोमै आएर कस्तो छ भनेर सोध्दा साह्रै खुशी लाग्यो”, सङ्क्रमित आचार्यले भन् । आचार्यले कोरोना भाइरस सङ्क्रमण भएपछि सामाजिक सञ्जालमै राखेर टोलवासीलाई सचेत रहन अनुरोध गरेका थिए ।

एक हप्तादेखि उपमहानगरका विभिन्न वडामा प्रमुख शिवराज सुवेदी, उपप्रमुख आचार्य र वडाका प्रतिनिधि कोरोना सङ्क्रमितको मनोबल बढाउन घरघरमा पुगिरहेका छन् ।

यो अभियानले कोरोना सङ्क्रमितको मनोबल बढेको मात्रै होइन, सङ्क्रमितलाई दुव्र्यवहार गर्न खोज्ने, सहयोग नगर्ने तथा सङ्क्रमितका कुरा काटेर बस्नेहरुको मुखसमेत बन्द भएका छन् ।

जनप्रतिधिहरु आएपछि छरछिमेकीको माया र सद्भाव झन् बढेको सङ्क्रमितको प्रतिक्रिया छ ।

बुटवल­–११ का सङ्क्रमित परिवारलाई नियमित दूध दिंँदै आएका एक व्यक्तिले सङ्क्रमित भएको थाहा पाएकै दिनदेखि दूध ल्याइदिन छाडे । छेउछाउका घरमा फोन गरेर सङ्क्रमितका दुवै घरमा ताला लगाइदिन, घरमा बस्न नदिन तथा छरछिमेकलाई नजिक नजानसमेत दबाब दिए ।

छिमेकी पनि दोधारमा परे । तर जब नगर प्रमुख र उपप्रमुख सहितको टोली घरदैलोमा पुगेर सङ्क्रमितलाई भेटेपछि भने छिमेकीको माया र सद्भाव झन् बढ्यो ।

“नजिकैका छिमेकीहरुको व्यवहार त एकदम राम्रो थियो बरु अलिक पर बस्ने व्यक्तिहरुले राम्रो व्यवहार गर्न खोजेनन् तर प्रमुख–उपप्रमुखको घरदैलोले निकै सकारात्मक सन्देश दियो”, एक सङ्क्रमितले भने ।

नगर प्रमुख र उपप्रमुखको यो अभियानले नजिक आउन नखोज्ने, हेय भाव राख्ने र असहयोग गर्नेहरुलाई ठूलो शिक्षा दिएको अनुभव सङ्क्रमितका परिवारले गरेका छन् । “अरु बेला नभ्याए पनि दुःख पर्दा आए, हाम्रो लागि त्यही नै ठूलो कुरा हो”, आफूले मतदान गरेका जनप्रतिनिधि घरदैलामा आएको देखेर आँखाभरि खुशीका आँशु झार्दै बुटवल ९१३ का सङ्क्रमितले भने ।

भदौ ५ गते हिन्दू नारीको चाड हरितालिका तीजको दिनमा समेत उपमहानगरपालिकाले सञ्चालन गरेको एन्फा आइसोलेशन सेन्टरमै पुगेर उपप्रमुख आचार्यले शुभकामना आदानप्रदान गरिन ।

“चाडको दिनमा आइसोलेशनमै आएर शुभकामना दिनुभयो, हामी अत्यन्तै उत्साहित भयौँ । हामीप्रति उहाँले देखाउनु भएको स्नेह, माया र सद्भावनाले हौसला प्रदान गरेको छ”, वडा नं १३ का सङ्क्रमित दीपक पन्थीले सामाजिक सञ्जालबाटै उपप्रमुखलाई धन्यवाद दिए ।

उपप्रमुख आचार्यले तीजको दिनमा आइसोलेशनमा रहेका ३४ सङ्क्रमितलाई भेटेर शुभकामना आदानप्रदान गरेकी थिइन।

स्वास्थ्य सावधानीका उपायको जानकारीसहित स्वास्थ्यलाभको शुभकामनापत्र र वैकल्पिक उपचार पद्दतिका आयुर्वेदिक ओखती बोकेर जनप्रतिनिधि आइसोलेशनमा पुगेपछि सङ्क्रमितको मनोबल बढेको छ । सङ्क्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नाका साथै थप सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको उपप्रमुख आचार्यले बताउनुभयो ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकामा अहिलेसम्म १६५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यसमध्ये महिला ५४ र पुरुष १११ जना छन् । सबैभन्दा बढी वडा नं ११ मा ४८ सङ्क्रमित देखिएको उपमहानगरपालिकाका कोरोना फोकल पर्सन कुन्दनकुमार सिंहले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा अधिकांश सङ्क्रमितमा लक्षण नदेखिएकाले सङ्क्रमण फैलिदै गएको छ । सङ्क्रमण कहाँबाट फैलियो भन्नेबारे खोजी गर्ने काम भइरहेको र कन्ट्याक्ट ट्रेसिङको कामलाई निरन्तरता दिइएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उपमहानगरपालिकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि बन्दाबन्दीलाई कडा पारिएको छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ४६ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै