२० मंसिर २०८२, शनिबार | December 6, 2025

त्रिवेणीवासीलाई बाटोकै सास्ती



नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने वडा नम्बर ६ र ७ का स्थानीयले बाटोका कारण सास्ती खेप्दै आएका छन् । सिधा बाटो नहुँदा सो क्षेत्रका बासिन्दा घण्टौँ लगाएर पालिका कार्यालय र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।

सङ्घीयतासँगै प्रदेश निर्माण हुँदा त्रिवेणी क्षेत्रका दुई बाटोलाई गण्डकी प्रदेशमा राखियो । गण्डकी प्रदेशलाई भारतसँग जोड्ने नाकाका रूपमा त्रिवेणी क्षेत्रलाई समेट्दा उक्त क्षेत्रका बासिन्दाले हाल समस्या भोग्दै आएका छन् । त्रिवेणी क्षेत्रका बासिन्दा अहिले सदरमुकाम पुग्न ८० किलोमिटर टाढा पुग्नुपर्छ । पालिका कार्यालय ४० किलोमिटर टाढा छ ।

“सरकारले रणनीतिक रूपमा नाकाका लागि त्रिवेणीलाई समेट्यो, तर यहाँका बासिन्दाको दुःख नदेखेजस्तै गरेको छ”, त्रिवेणीका स्थानीय चिरञ्जीवी ढुङ्गानाले भने, “लुम्बिनी प्रदेशको बाटो हुँदै पालिका कार्यालय घण्टौँ लगाएर पुग्नुपर्ने दुःख छ ।”

गण्डकी प्रदेश सरकारले कोरला-त्रिवेणी सडक निर्माणलाई प्रदेश गौरवको योजनामा राख्दै प्राथमिकता दिएको छ । तर यसै खण्डमा पर्ने दुम्किबास-त्रिवेणी सडक निर्माणमा कुनै चासो नदिएको ढुङ्गानाले बताए । दुम्किबास-त्रिवेणी सडक निर्माण नगर्ने हो भने आफूहरूलाई गण्डकी प्रदेशबाट छुट्याएर लुम्बिनीमा राख्नुपर्ने यहाँका बासिन्दाको माग छ ।

स्थानीय योगिता सहनीले भने, “यतिका वर्षसम्म बाटो खुल्ला भन्ने आशामा बित्यो, बाटो खुले पालिका पुग्न र नवलपुरको सदरमुकाम पुग्न सहज हुने थियो, यो दुःख त्रिवेणीवासीले सधैँ भोगिरहन सक्दैनन् ।”

त्रिवेणी क्षेत्रका बासिन्दा अहिले बर्दघाट, दाउन्ने हुँदै करिब ४० किलोमिटर पार गरी पालिका कार्यालय आउने गरेका छन् । सदरमुकाम झनै टाढा छ । सदरमुकाममा केही काम लिएर गए दिन बित्ने गरेको सहनीले बताए । “अहिले कुनै काम लिएर नवलपुरको सदरमुकाम पुग्दा दिन जान्छ, खर्च उस्तै हुन्छ, यताको प्रदेशमा भएको भए परासी एक छिनमा पुगिन्थ्यो”, उनले भने । त्रिवेणीलाई गण्डकी प्रदेशमै राख्ने हो भने दुम्किबास-त्रिवेणी सडक तत्काल खोल्नुपर्ने स्थानीयको माग छ ।

त्रिवेणी–दुम्किबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठाउने गरेको अध्यक्ष घनश्याम गिरीले बताए । त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी-दुम्किबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

नवलपुरको दुम्किबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्छ । बगुवनसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् । बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्छ । यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ । स्थानीयले भने मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक भएको बताउने गरेका छन् ।

दुम्किबास-त्रिवेणी खण्ड २०५९ सालअघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा २०६३ सालमा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामकरण गरी २०६३ साल असोजदेखि यातायातका साधन सञ्चालन गरिएका थिए । विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरन क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीय बताउँछन् । अहिले उक्त सडक सञ्चालन गर्न निकुञ्ज बाधक हुँदै आएको छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ८ : १९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय