काठमाडौं । सभामुख देवराज घिमिरेले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताएका छन ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्ष २०२५ का अवसरमा चिनियाँ दूतावासद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा उनले चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको बताए ।
“चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि हामी आभारी छौँ । नेपाल र चीनबीच सदियौँ पुरानो एवं निकट, मित्रवत् र सहयोगात्मक सम्बन्ध रहिआएको छ”, उनले भने, “हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छ, जुन आपसी विश्वासको बलियो जगमा निर्माण भएको छ । भौगोलिक र सांस्कृतिक समानताहरूका साथै जनस्तरको सम्बन्धले हाम्रो द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै लगेको छ ।”
सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन यस्ता कार्यक्रमले ठूलो योगदान गर्ने बताए । चिनियाँ परम्पराअनुसार यो वर्ष सर्पको वर्ष भएको बताउँदै उनले यस नयाँ वर्षले चिनियाँ मित्रजनहरूमा थप खुसी, प्रगति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
सात दशकअघि सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल-चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको उल्लेख गर्दै सभामुख घिमिरेले पञ्चशीलद्वारा निर्देशित हाम्रो द्विपक्षीय सम्बन्ध असल छिमेकपन, आपसी साझेदारी र सम्मानका साथै अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा आधारित रहेको बताए । “हामीबीचको यस्तो सुमधुर सम्बन्धलाई थप सुदृढ र घनिभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ”, उनले भने ।
नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै उनले एकापसमा उच्चस्तरीय भ्रमण एवं कार्यक्रमहरूको नियमित आदानप्रदानमार्फत हामीले द्विपक्षीय सम्बन्धमा उल्लेख्य प्रगति र गतिशीलता हासिल गरेको उल्लेख गरे ।
सन् २०१९ मा नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको चीनको राजकीय भ्रमण र सोही वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको नेपालको राजकीय भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ थियो ।
“हालसालै डिसेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको चीनको औपचारिक भ्रमणले नेपाल-चीनबीचको मित्रवत् सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन उल्लेख्य मद्दत मिलेको छ”, सभामुख घिमिरले भने, “उक्त औपचारिक भ्रमणका क्रममा भएका महत्त्वपूर्ण निर्णय र सम्झौताहरूले हाम्रो द्विपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ गति प्रदान गर्न मार्गप्रशस्त गरेका छन् ।”
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गर्दै गत वर्ष विविध चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्दै चीनले उत्कृष्ट प्रगति गरेको बताए । साथै उनले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय नेतृत्वमा, विशेषगरी अध्यक्ष सी चिनफिङको मार्गदर्शनमा चीनले जटिल अन्तर्राष्ट्रिय अवस्थाको बीचमा आफ्नो आर्थिक विकासलाई सुनिश्चित गरेको जानकारी गराए ।
राजदूत चेनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन-नेपाल रणनीतिक सहकारी साझेदारीलाई अगाडि बढाउँदै बेल्ट एण्ड रोड निर्माणलाई संयुक्त रूपमा प्रवर्द्धन गर्न, सहयोग ढाँचा सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरे । यसले विकास र समृद्धिको दिशामा नेपाल र चीनबीचको दीर्घकालीन मित्रताको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको उनको भनाइ थियो ।
“दुई देशका बीचमा, त्रि-आयामिक कनेक्टिभिटी नेटवर्क निर्माणले गति लिइरहेको छ, १४ परम्परागत सीमा व्यापार नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् र हप्तामा ४८ वटा सिधा हवाई उडान सञ्चालनमा रहेका छन्”, उनले भने, “दुई देशका मित्रहरू एकअर्कालाई पर्यटनका लागि घुम्न आउने, नेपालमा लगानी गर्न र व्यापार गर्नका लागि धेरै चिनियाँ उद्यमीहरू आउने र बढीभन्दा बढी नेपाली सामान चीनमा निकासी हुने गरेको देख्दा हामी खुसी छौँ ।”



















प्रतिक्रिया