३ पुस २०८२, बिहिबार | December 18, 2025

शीतलहरबाट दलित मुसहर परिवार समस्यामा



सर्लाही । चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन ।

बसवरिया गाउँपालिका-३ नाकैमा अन्तरगतको मुसहर माझी बस्ती छ । उक्त वस्तीमा झण्डै ४५ परिवार मुसहर जसोतसो खरको झुपडीमा जीवन धानिरहेका छन् । अन्य समयमा अवस्था सामान्य भएपनि बर्सातको डुबान र हिउँदको ठण्डीले उहाँहरूलाई निकै पिरोल्छ। यस बस्तीका बालबालिका र वृद्ध वृद्धा निकै सकसपूर्ण जीवन व्यतित गरिरहेका छन् ।

सोही बस्तीमा १० दिनकी सुत्केरी जोनिता माझी अत्यन्त कष्टले दिन रात काटिरहेकी छन् । चिसो दिन प्रतिदिन बढ्दै जाँदा नवजात शिशु र आफूलाई लगाउने न्यानो कपडासमेत नभएको उनले गुनासो गरेकी छन् । खरले छाएको मुस्किलले चार जना टुसुक्क बस्न मिल्ने ठाउँमा पराल ओच्छ्याएर उनले बिस्तरा बनाएकी छन् त्यसैमा उनको १० दिनको शिशु उनीसँगै सुतेका छन् ।

दैनिक ज्याला मजदुरी गर्नु पर्ने परिवार चिसोका कारण बाहिर निस्कनसमेत नपाएका कारण दुई छाकको जोहोसमेत गर्न समस्या परेको उनकी सासु जितनी देवी माझीले बताइन ।

जोनिताजस्तै सोही बस्तीकी २१ वर्षीया पुनीता माझीले पनि गत कात्तिकमा तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिइन । सुरुमा चिसो कम हुँदा जसोतसो दिन रात कटाएकी उनलाई शीतलहर सुरु भएपछि भने समस्या भएको छ । चिसोले रातभर शिशु रोएर नसुत्ने उनले दुखेसो पोखेकी छन् । चिसोका कारण उनी पनि बिरामी परिसकेकी छन् ।

पुनिताका श्रीमान पन्निलाल माझी र ससुरा हरिन्द्र माझी पनि मजदुरीका लागि पन्जाव पुगेका छन् । श्रीमानले कमाएर ल्याउलान र मिठो मसिनो खाने तथा बालबच्चा र आफूसमेतले न्यानो कपडा लगाउने आशमा रहेको पुनिताले बताइन् । कमाइ जम्मा भएपछि पठाउँछु भनेर श्रीमानले भनेको उनले सुनाइन् ।

बस्तीकै अर्को कुनामा रहेको सानो बासको टाँटी र खरको मुस्किलले भित्र छिर्न मिल्ने छाप्रोमा २० वर्षकी विना माझी महिना दिनको छोरा च्यापेर बसेकी छन् । ‘भुइमा राख्यो कि चिसोले बच्चा रोही हाल्छ,’ उनले भनिन्, ‘छातीमा च्यापी राख्यो भने न्यानो हुन्छ क्यार रुदैन ।’ मङ्सिर अन्तिममा जन्मिएको छोराले पेटभरि दूधसमेत खान नपाएको गुनासो उनको छ ।

बिनाका श्रीमान पनि पन्जाबमा उखु काट्ने मजदुरको काम गर्न पुगेका छन् । सिजन सकिएपछि घर आउने उनको तयारी रहेको विनाले बताइन ।

बस्तीमा चिसो सुरु भएपछि बच्चा जन्माएका अन्य आमा र शिशुको अवस्था उस्तै छ । न्यानो कपडा त परको कुरा दैनिक छाकको जोहोसमेत गर्न सबैको मुस्किल छ । अधिकांश परिवारका पुरुष कृषि मजदुरी गर्न भारतको पन्जाब गएका छन् । यो बस्तीका छोरा मान्छेहरु तीनदेखि चार महिनाको अन्तरमा केही कमाएर घर फर्कने गरेको बसवरिया गाउँपालिका-३, की वडासदस्य सिता देवी माझीले बताइन् ।

विपन्न परिवारका उनीहरूलाई सरसापटसमेत कसैले नपत्याउने भएकाले बनिबुतो यस बस्तीको एकमात्र जीवन धान्ने आधार रहेको वडासदस्यको भनाइ छ । वर्षामा पानीमा डुब्नु र हिउँदमा चिसोले कठ्याङ्ग्रिनु यस बस्तीको नियति रहेको उनी सुनाउँछिन् ।

स्थानीय पालिकाले विपन्नलाई राहत दिँदा सम्पन्नले पनि माग्ने भन्दै नदिने गरेका लक्षुमनिया देवीको भनाइ छ । गाउँ पालिकामा माग्न जाँदा भएकाले पनि माग्छन्। तिमीलाई कसरी दिनु भनेर त्यसै फर्काउने गरेको उनीहरुको गुनासो छ ।

यता गाउँपालिकाले विगतमा राहतको व्यवस्था गरेको भएपछि यस पटक केही ढिला भएको पालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए । मुसहर परिवारको अवस्था दयनीय रहेको कुरा जानकारी नआएको भन्दै अध्यक्ष रायले त्यस्तो अवस्था भए बुझेर राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ४१ बजे

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत