कोरोना सङ्क्रमितका लागि चितवनमा प्लाज्मा बैंक

खबर कुरा
२६ भाद्र २०७७, शुक्रबार

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ ।

पौडेलले चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ ।

चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । नीहरुलाई केही समस्या भएमा यहीँ उपचार गर्न सकिने भएकाले केन्द्रमै रगत सङ्कलन गर्न लागिएको हो ।

सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जली अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदैआएको छ ।

क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र प्लाज्मा थेरापी निर्देशिकामा गरिएको व्यवस्था एक आपसमा बाझिँदा प्लाज्मा तयार गर्ने रक्तदाताहरुको पहिचान कठिन भएको छ । पौडेल प्लाज्मा थेरापीमा स्पष्ट नीति नहुँदा प्लाज्माका लागि रगत सङ्कलनमै समस्या भएको बताउँछन् ।

क्वारेन्टिन मापदण्डले कोरोना सङ्क्रमितलाई १४ दिनपछि परीक्षण नै नगरी घर पठाउने भनेको भए पनि प्लाज्मा थेरापी निर्देशिकाले सङ्क्रमणमुक्त भएको १४ दिनपछि मात्रै रगत दान गर्नुपर्छ भनी उल्लेख गरेको पौडेलको भनाइ छ । यस्तो अवस्थामा परीक्षण नै नगरी घर गएका सङ्क्रमितहरुको रगत सङ्कलन गर्ने आधार नहुँदा समस्या आएको उनले जानकारी दिए । अहिले प्लाज्माका लागि रक्तदाता खोज्दा नेगेटिभ भई डिस्चार्ज भएको मात्र खोज्नुपर्ने भएको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले कोरोना सङ्क्रमितको पहिचानमा केही समस्या देखिएको बताए । “निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो”, उनले भने। निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ ।

अधिकारीले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको विकास गर्न लागिएको जानकारी दिए । उनका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिबेला दिन सहज हुनेगरी व्यवस्थापन गर्न लागिएको छ ।

केन्द्र र भरतपुर अस्पतालबीच सहकार्य गरेर हरेक समूहको पाँच युनिट प्लाज्मा जगेडा राख्न लागिएको अधिकारीले बताए ।  जिल्लाका अस्पतालहरुमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*