काठमाडौं । पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा भेटवार्ता गरेको छ ।
काठमाडौंमा मङ्लबार सम्पन्न भएको हिन्दूकुश हिमालय संसदीय सम्मेलनमा सहभागी हुन नेपाल आएको पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलले सभामुखसँग शिष्टाचार भेटवार्ता गरेको हो ।
पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे जानकारी दिएका थिए । भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावना रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखे । प्रतिनिधिमण्डलकी नेतृ हसनले नेपालले हिन्दूकुश हिमालय ‘पार्लियामेन्टेरियन्स मिट–२०२५’ सफलतापूर्वक सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरे। नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण र पर्वतीय पारिस्थितिकी संरक्षणमा खेलेको भूमिकाको उनले प्रशंसा गरे ।


















प्रतिक्रिया