१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी आन्दोलनको खरानीबाट उठेको नयाँ आशा

संघर्ष, समर्पण र समाजप्रतिको अनुकरणीय योगदान



बुटवल । रुपन्देहीका पर्यटन उद्यमी गोपाल रानाको जीवनकथा सामान्य उद्यमीको कथा होइन, यो संघर्ष, समर्पण र समाजसेवाको अद्वितीय उदाहरण हो । पर्वतको गाउँबाट २०१८ सालमा रुपन्देही झरेका रानाले सरकारी स्कुलमै पढ्दै ठूला सपना बुने । विदेशमा भविष्य खोज्न सिंगापुर पुगे, तर त्यहाँको छोटो अनुभवले उनलाई एउटा ठूलो पाठ दियो-‘सफलता आफ्नै मातृभूमिमा मेहनत र समर्पणबाट सम्भव हुन्छ ।’

यही पाठलाई आधार बनाएर उनले रुपन्देहीमा होटल व्यवसायलाई मात्र होइन, समाजसेवामा पनि नयाँ आयाम दिए । अरु कसैले खोलेको मणिग्रामको समरल्याण्ड रिसोर्टलाई स्वामित्व लिएर विस्तार गरेर ‘ड्रिमल्याण्ड गोल्ड रिसोर्ट’ बनाउन सफल भए ।

संगसंगै उनी ‘ड्रिम इन्टरनेशनल होटल’ मार्फत बुटवललाई पर्यटकीय नक्सामा स्थापित गर्ने नेतृत्वकर्ताका रूपमा उदाए । तर, हालैको जेनजी आन्दोलनको विध्वंसले यी संरचनालाई खरानी बनाइदियो । सम्पत्ति गुमे पनि उनको आत्मबल अझ दृढ भयो ।

फिनिडा संस्थामा काम गर्दै गुल्मी-अर्घाखाँचीका गाउँमा खानेपानीको प्रबन्ध गर्दा पनि यही आत्मविश्वास गहिरियो । गुल्मी र अर्घाखाँचीका गाउँ-गाउँमा पानीका धारा जडान गर्ने अभियानमा उनी प्रत्यक्ष संलग्न भए । गाउँलेहरूको कठिनाइ नजिकबाट देख्दा उनले बुझ्न थाले-श्रम, प्रतिबद्धता र सेवा नै जीवनको मूल मूल्य हो ।

उद्यमशीलता यात्रा : ‘ड्रिमल्याण्ड रिसोर्ट’

रुपन्देही फर्किएर केही गर्न खोज्दा अवसरले उनलाई मणिग्रामस्थित समरल्याण्ड रिसोर्ट पुर्‍यायो । होटल सञ्चालकलाई समस्या परेपछि रानाले होटलको जिम्मेवारी सम्हाले । १२ कोठामात्र भएको रिसोर्टलाई उनले विस्तार गरेर ‘ड्रिमल्याण्ड गोल्ड रिसोर्ट’ बनाए ।

त्यो रिसोर्टमा सयभन्दा बढी रोजगारी सिर्जना भयो । होटल परिसरमा खाली जमिन नराखी उनले तरकारी र फलफूल लगाएर हराभरा वातावरण निर्माण गरे । यसरी ड्रिमल्याण्ड नेपालकै गणनायोग्य नमुना रिसोर्टको रूपमा ख्याति कमाउन सफल भयो । थकित र कुनै तनावमा पर्दा त्यहाँ पुगेपछि ती सबै भुल्ने उपयुक्त गन्तब्य बनेको थियो रिसोर्ट ।

तर, भदौ २४ गतेको विध्वंशले उनको होटललाई क्षणभरमै खरानी बनाइदियो । अहिले त्यहीँ खरानी टक्टकाएर जुरुक्क उठ्न खोज्दैछन् राना । उनलाई यसरी खरानीबाट उठ्न उनको परिवार, नातेदार र होटलका स्टाफहरुले साथ दिइरहेका छन् ।

बुटवलको गर्व : ‘ड्रिम इन्टरनेशनल होटल’

त्यसपछि रानाले अर्को महत्वाकांक्षी परियोजना अघि सारे-बुटवलको कालिकापथमा ड्रिम इन्टरनेशनल होटल । आफ्ना नातेदार, विशेषगरी ससुराली परिवारको सहयोग र बैंक-वित्तीय संस्थाबाट जुटाइएको ऋणमा उनले आकर्षक र व्यवस्थित बुटिक होटल सञ्चालनमा ल्याए ।

आज यो होटल बुटवलको आधुनिक हस्पिटालिटीको पहिचान मानिन्छ । करोडौंको लगानीले तयार भएको यस होटलले रुपन्देहीलाई पर्यटकीय नक्सामा मजबुत रूपमा स्थापित गरेको छ ।

यो होटलमा कुनै दलका नेताको लगानी छ भनेर विध्वंशकारीले आक्रमण गरे । तोडफोड गरे, लुटपाट र आगजनी गरे । केही दिनपछि नै उनले यहाँको खरानीबाट माथि उठ्दै आज पुनः सञ्चालनको तहमा ल्याइपुर्‍याएका छन् ।

मंगलबार नवरात्रको दोस्रो दिन, मिलनचोकस्थित ड्रिम इन्टरनेशनल होटल पुनः सञ्चालन गर्दै उनले क्षेत्रका अपांग, असहाय र अनाथलाई विशेष भोजन गराएर नयाँ सुरुआत गरे । सो अवसरमा अपांग आश्रमका ४५ जना आश्रितलाई आफ्नै साधनमा होटलसम्म ल्याएर भोज खुवाइएको थियो । आश्रमका सञ्चालक डोलबहादुर रामदामले भावुक हुँदै भने, ‘जहिले जे खाँचो पर्छ, त्यसबेला गोपाल दाइलाई सम्झने गर्छौं, र त्यो पूरा हुन्छ ।’

यसक्षेत्रका आश्रमका लागि रानाले अक्षयकोष स्थापना गरेका थिए । हरेक चाडपर्वमा आश्रममै पुगेर भोजन गराउने देखि लत्ताकपडा उपलव्ध गराउनेसम्मका काम नियमित जसो गर्दै आएका छन् ।

व्यवसायभन्दा अगाडि : समाजसेवामा समर्पण

गोपाल राना केवल उद्यमी मात्र होइनन्, समाजसेवामा समेत अग्रसर छन् । उनले झण्डै एक दर्जन अक्षयकोष स्थापना गरी असहाय, अपांग, जेहेन्दार विद्यार्थी र सडकमा आश्रित नागरिकलाई निरन्तर सहयोग गर्दै आएका छन् । हरेक चाडपर्वमा उनले अनाथालय र आश्रमका बालबालिका र अपांगलाई भोजन, लत्ताकपडा र आवश्यक सामग्री उपलब्ध गराउँछन् । उनले आफ्नै शब्दमा प्रष्ट्याउँछन्‌- ‘व्यवसायमा कमाएको केही भाग समाजलाई फर्काउन सके मात्रै जीवनको अर्थ हुन्छ ।’ रानाले व्यापारिक सफलता मात्र होइन, समाजसेवामा पनि उदाहरण प्रस्तुत गरेका छन् । उनले झण्डै एक दर्जन अक्षयकोष खडा गरेर असहाय, अपांग, जेहेन्दार विद्यार्थी, सडकमा आश्रित मानवदेखि अन्य जरुरतमन्दलाई निरन्तर सहयोग गर्दै आएका छन् । मार्गनिर्देशन गरेका कैयन युवाहरु स्वरोजगार उद्यममा जमेका छन् । रानाले धर्मपुत्र बनाएर राखेका एकजना युवा त अहिले ब्याच्लर तहमा अध्ययन गरिरहेका छन् र फुर्सदमा बारिष्टा सिकिरहेका छन् । जेनजी पुस्ताका कैयनलाई रोजगारी नै दिएका छन् ।

अकस्मात आएको विपत्ति : ‘जेनजी आन्दोलन’को विध्वंस

दशकौँको मेहनतले खडा गरिएका यी संरचना हालैको जेनजी आन्दोलनमा खरानी बने । तोडफोड, आगजनी र लुटपाटका क्रममा उनका होटलहरू प्रत्यक्ष निशाना बने । केही समूहले ‘दल नेताको लगानी’ भन्दै पूर्वाग्रहसहित आक्रमण गर्दा उनको सम्पत्ति मात्र नभई मानसिक शान्तिमा पनि चोट पुग्यो । ‘धन सम्पत्ति खरानी भयो भने फेरि बनाउन सकिन्छ । तर, पूर्वाग्रह र निहित स्वार्थले लगाइएको दागलाई मेटाउन गाह्रो हुन्छ ।’ हुँदै नभएको आरोप खेप्दा उनलाई दुख लागेको छ ।

उनले युवा पुस्ताले चोखो मनले उठाएका मागहरु जायज रहेको उल्लेख गर्दै आन्दोलनलाई भने घुसपैठ भएर भड्काउने काम भएको बताए । ‘खास जेन जी ले यो तहको विध्वंश गरेकै होइन, चाहेकै थिएन जो अहिले विभिन्न सञ्जालहरुमा आइरहेकैछ तर, कसले किन कुन नियतले यो सब ध्वंश गर्‍यो त्यो अपराधमा संलग्नहरुको छानबिन होस्‌’रानाको भनाइ छ ।

न विचलित भए, न मनोबल घट्यो

आन्दोलनले उनको भौतिक सम्पत्ति ध्वस्त गरिदियो । तर, उनको मनोबललाई चाहिँ चट्याङले समेत छुन सकेन । उल्टै, समाजसेवामा अझै गहिरो समर्पण गर्ने संकल्प बलियो बन्यो । आज रानाको कथा केवल होटल व्यवसायको मात्र होइन । यो कथा हो-कठिनाइलाई अवसरमा बदल्ने संकल्पको, राखबाट पुनः उठ्ने साहसको र समाजलाई निरन्तर सेवा गर्ने मानवीयताको ।

मलाई बाहिरबाट देख्दा धेरैले धेरैथरी अनुमान लगाउन सक्छन्, नेताकै लगानी भएको भनेर जसरी आरोपित गर्दै विध्वंश गरे त्यस्तै गरेर नचिन्नेहरुले अनेक सोच्छन् होला । तर, मेरो बारेमा यहाँका असहाय, अनाथ, अपांग र केही गरौं भन्ने हुटहुटी भएका युवा पुस्तालाई सोध्दा हुन्छ, बुझुदा हुन्छ’ राना भन्छन् । उनी भन्छन्‌- ‘धन र सम्पत्ति क्षणिक हुन्, तर समाजप्रतिको समर्पण र सहयोगको भावना अमर हुन्छ ।’

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ८ : २७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा