२५ श्रावण २०८३, सोमबार | August 10, 2026

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच



कञ्चनपुर । दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ ।

बेदकोट नगरपालिका(९ लालपुरमा थारू समुदायका सबैजसो साँझ ८ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाचिन्छ । साँझ खाना खाएर सबै जना बडघरको आँगनमा जम्मा भएर सखिया नाच्ने गरिएको स्थानीय सीता चौधरीले बताइन् ।

“सुरुको दिन सबै देवीदेवताको नाम लिएर सखिया नाच सुरु हुन्छ”, चौधरीले भनिन्, “हाम्रो समुदायमा दसैँको बेला हरेक वर्ष सखिया नाचिन्छ । सखिया नाचमा महाभारतको इतिहास हुन्छ । यसले हाम्रो मौलिकता र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ ।” यो नाचमा परिवारका एक जना पुरुष र महिला अनिवार्य उपस्थिति हुनुपर्ने बताउँदै उनले हरेरी पूजादेखि गाउँमा सखिया नाच सुरु हुने जानकारी दिइन् ।

पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया नाच्ने गरे पनि यो नाच छोट्टिँदै जाँदा लोप हुने जोखिम बढेको स्थानीय बुद्धिनी डगौराले बताइन् । “अहिले दश दिन मात्रै सखिया नाचिन्छ, पहिलेका पुस्ताले एक महिनाअघिदेखि सखिया नाच्न सुरु गर्थे”, उनले भनिन्, “अहिले अधिकांश मानिस व्यापार, व्यवसाय, रोजगारीमा व्यस्त हुन थालेका छन् । रोजगारी र शिक्षाका लागि बाहिर जाने गरेकाले संस्कृति पुस्तान्तरण हुन सकेको छैन ।” थारू समुदायमा दसैँमा सखिया नाचको विशेष महत्त्व हुने उनको भनाइ छ ।

सखिया नाच सुरु भएपछि मात्रै थारू बस्तीमा दसैँ आएको आभास हुन्छ । थारू भाषामा सखीको अर्थ साथीसँगी हुन्छ,  गाउँका सबै साथीसँगी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको संस्कृतिका जानकार धिरेन्द्र चौधरीले बताए । “सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइन्छ”, उनले भने, “यसले समुदायको पहिचान र मौलिकता जोगाएको छ ।” सखियाले थारू समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्‍याएको उनले बताए ।

चौधरीका अनुसार नाच्ने युवतीले सेतो रङ्गको फरिया र रातो रङ्गको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङ्गको धोती र रुचिअनुसारको कमिज लगाउने गर्छन् । “गीत नसकिएसम्म नाच सकिँदैन, यो धेरै लामो हुन्छ”, उनले भने, “गीत गाउने चलन पछि छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्त्यमा गाउन मिल्दैन ।”

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन यो समुदायमा रहिआएको संस्कृतिका जानकार चौधरीले जानकारी दिए । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी हुनुपर्नेमा उनले जोड दिए । “आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ”, उनले भने, “अन्य समुदायको भन्दा हाम्रो समुदायमा दसैँ पृथक रूपमा मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारू समुदायले नवमीदेखि जमरा लगाउने गर्दछन् ।”

थारू समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने स्थानीय निशा चौधरीले बताइन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि नाच्ने प्रचलन रहेको उनको भनाइ छ ।

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ८ : ५३ बजे

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन