७ चैत्र २०८२, शनिबार | March 21, 2026

च्याङ्ग्रा व्यापारीको दुःखः दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ



बागलुङ । अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गर्नुभएका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिए । डोल्पाको काइके गाउँपालिका–४ का रोकाया दसैँको खर्च जोहोका लागि ११ दिन अगाडि डोल्पाबाट ३०० च्याङ्ग्रा लिएर आएका थिए ।

दुई सय च्याङ्ग्रा बडिगाड आउँदासम्म बिक्री भइसकेका थिए भने बाँकी १०० सस्तो मूल्यमा दिने ‘मुड’मा रोकाया थिए । मङ्गलबारसम्म सबै च्याङ्ग्रा बिक्री गरेर घर फर्किने योजनामा उनी थिए । तर बिक्री नहुँदा उनी निराश देखिन्थे । रोकायाले दसैँमा च्याङ्ग्रा बेच्न थालेको अहिले मात्रै होइन । उनले १५ वर्षदेखि यही पेसा गर्दै आएका छन् । तर बागलुङमा भने उनको पहिलो यात्रा हो ।

डोल्पाबाट जाजरकोट झरेर रुकुम हुँदै बागलुङ आएका रोकाया पहिले दाङतिर जाने गरेको बताए । यसपाली पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा बजारमा झारेको रोकायाको भनाइ छ ।

बिक्री भएका सबै च्याङ्ग्राले राम्रो मूल्य पाएको सुनाउँदै अब कम मूल्यमै भए पनि दिएर गाउँ फर्किने उनी बताउँछन् । बजार झर्न केही ढिला हुँदा घर खर्कन हतार भइसकेको रोकायाले सुनाए ।

“दसैँको बेला सहर बजारमा बस्ने मान्छेहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवाउन पाउँदा हामीलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको बिक्री भएपछि बालबच्चालाई एकजोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु पर्‍यो, अरु के गर्ने ?”, उनले भने, “डोल्पाबाट यहाँ आउन सजिलो छैन, तर पनि के गर्ने गाउँमै यति धेरै च्याङ्ग्रा बिक्री हुँदैनन्, सजिलै पैसा त कहाँबाट आउँथ्यो र ?”

उनका साथमा अर्का एक जना तिलमबहादुर खत्री पनि थिए । दुई जनाले साझेदारीमा डेढरडेढ सय च्याङ्ग्रा लिएर आएका हुन् । दसैँको समयमा च्याङ्ग्रा बेचेर कमाएको पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको खत्रीले बताए । डोल्पादेखि बागलुङसम्म आउँदा कैयौँ चुनौती झेल्नु परेको उनले सुनाए । अहिले मध्यपहाडी लोकमार्गले बागलुङसम्मको यात्रालाई सहज बनाइदिएको हुँदा पहिलो पटक यहाँ आएको उनको भनाइ छ ।

यसवर्ष च्याङ्ग्राको अधिकतम मूल्य ३० देखि रु ४५ हजार रहेको खत्री जानकारी दिए । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४० हजारमा दिने गरेको उनी बताउँछन् । यो मूल्य अघिल्लो वर्षकोभन्दा रु चार हजारले कम भएको खत्रीले बताए ।

उनी भन्छन्, “च्याङ्ग्रा उत्पादन गर्न गाह्रो छ, बिक्री गर्न पनिख उस्तै गाह्रो, बागलुङसम्म ल्याउँदा हाम्रो नै कति खर्च भएको हुन्छ, पोहोरसालको दसैँमा रु ४५र५० हजार भन्थे अहिले रु ३०र४० हजारमा पाउनुहुन्छ, गाउँमाभन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुनेहुँदा हामीहरुले उच्च ठाउँमै पुगेर ल्याउने गरेका छौँ, ग्राहकजति खुसी हुनुहुन्छ, हामीहरुलाई त्यति नै सन्तुष्टि मिल्छ, बाँकी रहेका च्याङ्ग्रा फर्काउने कुरा भएन, सस्तोमै दिएर फर्किनुपर्ने भयो ।”

दसैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । गोठमा सस्तोमा खरिद गर्ने व्यापारीले काठमाडौँ, पोखरासहित देशका ठूलो सहरमा पुर्‍याएर हजारौँ नाफा कमाउने गर्दछन् । मुस्ताङसहित डोल्पा, मुगु, हुम्लालागायत ठाउँबाट दसैँका बेला बागलुङमा भेडाच्याङ्ग्रा लिएर सयौँ व्यापारीहरु आउने गर्छन् । बागलुङसम्म आएका व्यापारी देशका ठूला सहरमा पनि पुग्ने गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ४६ बजे

बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन

‘अमेरिकी सुरक्षा ग्यारेन्टी’बारे दुबईजस्ता शहरहरूको भ्रम कसरी भयो चकनाचूर !

पछिल्ला केही दशकमा, जब लेबनानमा बम वर्षा भइरहेको थियो, इराकमा

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना

परम्परा जोगाउन बारीका पाटामा सेफहरूको ‘वनभात’

काठमाडौं । शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा

कांग्रेसद्वारा ‘ईद उल फित्र’ पर्वको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ‘ईद उल