इलाम । निरन्तरको वर्षासँगै गएको पहिरोका कारण इलामका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ ।
हिजो र आज दुई दिनमा गरी यति धेरै मानवीय क्षति भएको हो । अझै पनि कैयौं व्यक्ति वेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ ।
त्यसैगरी माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा तीन जना, देउमाई नगरपालिका–५, धारेमा एक जना, सोही वडाको धुसुनेमा दुई जना, फाकफोकथुम गाउँपालिका–३, रातमाटेमा एक जना र इलाम नगरपालिका–५, घोसगाउँमा छ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीपक पोखरेलले बताएका छन् ।
यससँगै इलाममा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । अविरल वर्षाका कारण जिल्लाका अन्य स्थानहरूमा समेत क्षति पुगेको आशंका गरिएको छ ।
उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको जनाइएको छ । सुरक्षाकर्मीहरू र स्थानीयवासीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित भएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया