१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी सुशासन योद्धाका आमा भन्छिन : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ



काठमाडौं । छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् । उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसकेका छन । तै आमाको मन १ मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ ।

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो । उनी भावुक हुँदै भन्छिन, “दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ ।” तर, भदौ २३ को जेनजी आन्दोलनमा उनी सहिद भए । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलिन भयो ।

अपरिचितको ‘त्यो’ फोन

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन । अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराएका थिए । भीममायाले आन्दोलनमा नजाउ भनेको उनले मानेनन् । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उनी आत्तिराखेका थिए ।

सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो । उनले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राए ।

छोराको फोन फिर्ता लिएपछि काठमाडौं बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे । तर उनको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौं आइन । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुगिन । उनीहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला परे । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्याइयो भन्ने यकीन भएन ।

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश

सिन्धुलीको तीनपाटन-६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो । त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिन्छन दिपेशका बुवा ढलकबहादुर ।

“गाउँका कसैलाई मोटरसाइकलमा पुर्याउनु पर्यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ”, ढलकबहादुर छोरालाई सम्झिदै भन्छन, “संसारलाई पुर्याउन टाढाटाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो । भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।”

दिपेशले विद्यालय शिक्षा परीक्षा ९एसइई० सम्म मात्र अध्ययन गरेका थिए । १९ वर्षीय उनी एक वर्ष अघि काठमाडौं आएर उनले घर निर्माणको काम गरे । तर ठेकेदारले पैसा नदिएपछि उनी घर फर्किए । दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाइन । पछिल्लो पटक उनी गत जेठमा काठमाडौं आए । लगत्तै सफाइ कम्पनीमा काम गर्न थाले ।

काठमाडौंमा मजदुरी गरेर उनले घरमा पैसा पठाउने गर्ने । थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उहाँको योजना थियो । “अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो”, भीममाया भन्छिन, “घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो । अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ ।”

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् । बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौं आएर खेतमा मजदुरी गर्दै आएका थिए । घरमा रहँदा उनले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए । छोराको साहदतपछि उनलाई आजभोलि काठमाडौं जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाडेका छन ।

दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट रु २५ हजार प्राप्त गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा-२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट रु १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन् ।

आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् । सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १२ : २४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा