६ श्रावण २०८३, बुधबार | July 23, 2026

उपभोक्ताको रोजाइमा सदाबहार एकलैनी बजार



नेपालगन्ज । नेपालगन्जको बीच बजार त्रिभुवनचोक क्षेत्रमा रहेको एकलैनी बजार उपभोक्ताको सदैव रोजाइमा पर्दै आएको छ ।

जहाँ पाइला–पाइलामा फरक–फरक सामानको लस्कर देखिन्छ । साँघुरो गल्लीभित्र, एकै लाइनमा जोडिएका पसलहरूः सौन्दर्य, चुरा, कपडादेखि जुत्ता र चप्पलसम्म एक लहरमा छन् । यो हो एकलैनी बजार, जसको इतिहास नेपालगन्जको स्थापनासँगै जोडिएको छ ।

नेपालगन्जका सदरलाइन, त्रिभुवन चोक, बिपी चोक, धम्बोजी चोक, घरबारी टोल र सुर्खेत रोड प्रमुख बजार मानिए पनि स्थानीय र बाहिरबाट आउने सबैको रोजाइमा एकलैनी बजार नै पर्छ । चाडपर्वको बेला होस् वा अन्य जुनसुकै समयमा पनि एकलैनी बजारमा उपभोक्ताको लर्को लागिरहने स्थानीय विजय गुप्ता बताउँछन् ।

सुनारमण्डी टोल निवासी गुप्ताका अनुसार अन्य चोक चौराहका बजार सुनसान हुँदै गए पनि एकलैनीको चहलपहल सदावहार रहेको छ । चाडपर्वका बेला उपभोक्ताको थप भीडभाड हुने गर्दछ ।

खासगरी सौन्दर्य र खाद्यान्नका सामानका लागि परिचित यो बजारमा किनमेलका लागि महिला तथा गृहिणीको उपस्थिति बाक्लो हुने गर्दछ । किनमेल गर्नेको ताँती लाग्ने भएकाले यहाँका व्यापारीलाई खासै फुर्सद हुँदैन । चाडबाडको समयमा त पाइला टेक्ने ठाउँसमेत पाउन मुस्किल पर्छ ।

चौबीस वर्षदेखि पसल चलाइरहेका स्थानीय व्यापारी आशिष निगमका अनुसार पछिल्लो समय सौन्दर्य प्रशोधनका सामग्रीको प्रयोग बढेको छ । एकलैनी बजारको सफलताको मुख्य कारण नै सस्तो मूल्यमा राम्रो सामान उपलब्ध हुनु हो ।

“एकलैनीमा सबैभन्दा बढी सौन्दर्यकै पसल छन् । बजार बढ्दै गएपछि व्यापारमा प्रतिस्पर्धा पनि तीव्र भएको छ”, उनले भने, “सुरुमा २० जति जुत्ता पसल रहेकामा अहिले २०० भन्दा बढी पसल थपिएकाले सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनीको ‘मार्केट’ चलिरहेको छ ।”

नेपालगन्ज–२१ फुल्टेक्रा नयाँबस्तीकी सिर्जना थापा एकलैनी बजारको नियमित ग्राहक हुन् । जुत्ता चप्पल र महिलाको सौन्दर्य सामान अन्यत्रभन्दा सस्तो र सजिलै पाइने भएकाले एकलैनी बजार सहज लाग्ने गरेको उनको भनाइ छ । स्थानीय अगुवा बलराम यादवका अनुसार एकलैनी बजार पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, दैलेख, सुर्खेतलगायतका सर्वसाधारणको पनि प्रमुख गन्तव्य थियो । दशकौँअघि पहाडबाट आएका मानिसले एकलैनी बजारबाटै नुन र लत्ताकपडा केही वर्षलाई पुग्ने गरी लैजाने गरेको उनको सम्झनामा छ ।

उनका अनुसार एकलैनी बजार नेपालगन्जको केवल किनमेल गर्ने ठाउँ मात्र होइन, यो यहाँको पुरानो व्यापारिक सम्बन्ध र संस्कृतिलाई बोक्ने एउटा जिउँदो इतिहास पनि हो । नेपालगन्ज वडा नं ३ मा अवस्थित एकलैनी बजारले मोटर जान नसक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावको लगायत साँघुरोपनको अवस्था वर्षौंदेखि भोग्दै आएको छ ।

नेपालगन्ज—३ का वडाध्यक्ष मोहम्मदआयुब सिद्दीकीले एकलैनी बजारको विस्तार हुन नसक्दा यो क्षेत्रबाट शृङ्गार र दैनिक उपभोग्य वस्तुको पसलबाहेक अन्य पसल विस्तारित क्षेत्रमा सर्दै गएको बताए । एकलैनी बजार विस्तारका लागि योजना अगाडि सारे पनि सफल हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  २ : १३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क