बुटवलमा एलपिजी ग्यास प्रयोग सम्बन्धि आधारभूत प्रशिक्षण गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा शुक्रबार गृहिणीहरुलाई एलपिजी ग्यासको सुरक्षित प्रयोग र यसबाट जोगिने आधारभूत कुराहरुको बारेमा प्रशिक्षण गरिएको हो ।
प्रशिक्षणको शुभारम्भ गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले एलपिजी ग्यासको प्रयोगमा हुने लापरवाही र हेलचेक्रयाँईका कारण भएका दुर्घटनाबाट कतिपयले अकालमै ज्यान गुमाउन परेको तथा कतिपयले कष्टपुर्ण जीवन जिउन बाध्य भएको सन्दर्भमा सुरक्षित प्रयोगलाई जोड दिएर गृहिणीहरुका लागि प्रशिक्षण कार्यक्रम गरिएको बताए ।
प्रशिक्षणमा प्रशिक्षक महेश पन्तले एलपिजी ग्यासको प्रयोग, गर्नहुने कुराहरु र नहुने कुराहरुको बारेमा प्रयोगात्मक प्रशिक्षण गरेका थिए । उनका अनुसार ग्यास सिलिण्डर लिँदाखेरी नै आधारभूत मापदण्डको अध्ययन गरेर सिलिण्डर ल्याउनु पर्छ ।
ग्यास प्रयोग गर्नुभन्दा अगाडी भान्साको झ्याल र ढोका सधै खुल्ला राख्नुपर्छ, चुलोलाई सिलिण्डर भन्दा माथी राख्नुपर्छ । ग्यास पाइप तथा अन्य जोर्नी र भल्वहरु लिक भए नभएको वेलावेला जाँच गर्नुपर्ने, सिलिण्डरलाई सधै ठाडो राख्नुपर्ने, ढलाएर प्रयोग गर्न नहुने उनले बताए ।
त्यस्तै काम सकिसकेपछि पहिले रेगुलेटर र त्यसपछि मात्रै चुलोको नव बन्द गर्नुपर्छ । बलिरहेको ग्यास स्टोभ छाडेर कही जानु हुँदैन । केटाकेटीलाई जथाभावी ग्यास चुल्हो चलाउन नदिने, सिलिण्डरको माथी कुनै प्रकारका सामान नराख्ने र त्यसलाई खुल्ला रहन दिनुपर्छ । त्यसैगरी सिलिण्डर फेर्दा आगोको स्रोतहरु बन्द भएको निश्चित भईसकेपछि मात्रै फेर्नुपर्छ ।
ग्यास अत्यधिक प्रज्वलनशिल पदार्थ भएकाले ग्यास लिक भएमा सबैभन्दा पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुपर्छ । झ्याल ढोको खुला राख्नुपर्छ । त्यस्तो बेलामा मैनबत्ती, दियो, धुप सलाई लगायतका आगोको श्रोतहरु बाल्नु हुँदैन । बलेको छ भने निभाईहाल्नु पर्छ । त्यस्तै आगोको झिल्का आउने बस्तुहरु, बिजुलीको स्वीच चलाउनु हुँदैन । त्यस्तै सिलिण्डरबाट रेगुलेटर छुटाउनुपर्छ । भल्वमा सेफ्टी क्याप लगाउनु पर्छ ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।


















प्रतिक्रिया