काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले प्रभावित जनतालाई तत्काल सहयोग पुर्याउन अपील गरेका छन्।
संयोजक प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा विशेषगरी गरीब तथा सीमान्तीकृत वर्गका नागरिकहरू यस अवस्थाबाट बढी पीडित भएको उल्लेख गर्दै कुनै पनि मानवीय क्षति तथा स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्य अवलम्बन गर्न आग्रह गरेका छन्।
उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा तत्काल राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन्। साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत वितरणलगायतका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउन पार्टीका सबै सम्बन्धित समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन्।
देशका विभिन्न स्थानमा बढ्दो चिसो र हिमपातका कारण दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा संयोजक प्रचण्डको यो अपील आएको हो।



















प्रतिक्रिया