काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निर्वाचन केन्द्रित छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनको तयारीबारे छलफल गर्न लागेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज दिउँसो ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा आगामी निर्वाचनको वातावरण निर्माण, राजनीतिक सहमति, स्थिरता र आवश्यक तयारीका विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तीनै दलका शीर्ष नेतासँग भेट गरी निर्वाचनको वातावरण बनाउन सहकार्यको आग्रह गरेका थिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए । पछिल्लो समय मुलुकमा निर्वाचनसम्बन्धी अन्योल र राजनीतिक गतिविधि तीव्र भइरहेका बेला प्रधानमन्त्रीको पहलमा हुन लागेको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।



















प्रतिक्रिया