बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ आज औपचारिक रूपमा समापन हुँदैछ । पुस ३ गते अर्थमन्त्री रामेश्वर खनालको उद्घाटनसँगै सुरु भएको प्रदर्शनीको समापन समारोह आज दिउँसो साढे १ बजे हुने भएको हो । समापन कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।
मूल आयोजक समिति संयोजक कृष्णप्रसाद पराजुलीका अनुसार समापन समारोहमा प्रदर्शनी अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने उद्यमी, व्यवसायी तथा विभिन्न विधाका सहभागिहरूलाई सम्मान गरिनेछ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित आयोजना गरिएको यस प्रदर्शनीमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रवर्द्धन तथा बजारीकरणमा विशेष जोड दिइएको थियो ।
वरिष्ठ उपाध्यक्ष तथा स्टल दर्ता समितिका संयोजक जीवकान्त काफ्लेका अनुसार सुरुमा ५ सय स्टलको तयारी भए पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अनुसार नेपालमै उत्पादन नभएका सामग्री बिक्री गर्ने स्टलहरूलाई अनुमति दिइएन । यसले प्रदर्शनीलाई पूर्ण रूपमा स्वदेशी उत्पादन केन्द्रित बनाउन मद्दत पुगेको उनले बताए ।
प्रदर्शनीलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिएका थिए । सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालका अनुसार ख्यातिप्राप्त राष्ट्रिय कलाकार, लोकदोहोरी गायन, आधुनिक गीत-संगीत, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, भजन प्रतियोगिता र ‘प्रदर्शनी आइडल’ जस्ता कार्यक्रमले दर्शकको उल्लेख्य आकर्षण पाएको छ ।
संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन तथा अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले अन्तिम दिनसम्म आइपुग्दा प्रदर्शनी स्थलमा दर्शकको घुइँचो लागेको बताए । उपाध्यक्ष युवराज आचार्यका अनुसार प्रदर्शनी अवधिभर सुरक्षा व्यवस्था चुस्त राखिएको र कुनै पनि अप्रिय घटना नभएको जानकारी दिए ।
प्रदर्शनीमा प्रविधि, कृषि, उद्योग र पर्यटनसम्बन्धी नवीनतम जानकारी प्रदान गर्ने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउने, बजार विस्तारका सम्भावना खोज्ने तथा उद्यमीबीच अनुभव आदान-प्रदान गर्ने उद्देश्य राखिएको सचिव अशोक कुँवरले बताए । साथै प्रदर्शनी अवधिभर विभिन्न गोष्ठी, अन्तरक्रिया र कार्यशालामार्फत औद्योगिक तथा व्यावसायिक विकासका विषयमा छलफल गरिएको उनले जानकारी दिए ।
प्रबन्धक यादव भण्डारीका अनुसार १० वटा विभिन्न विधाका पेभिलियनमार्फत ३९ जिल्लाबाट आएका स्वदेशी उद्योगहरूको सहभागिता रहेको छ । प्रदर्शनीमा करिब ८ लाख दर्शकको सहभागिता रहने र ३० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको कोषाध्यक्ष विशाल बेलबासेले जानकारी दिए । प्रचारप्रसार संयोजक इञ्जिनियर किरण खरेलका अनुसार प्रदर्शनीका गतिविधि डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रसारण गरिएको छ ।
स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित आयोजना गरिएको यो प्रदर्शनीले बुटवललाई औद्योगिक र व्यावसायिक केन्द्रका रूपमा थप चिनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।




















प्रतिक्रिया