झापा । नेकपा एमालेले केहीसमय अघि गठन गरेको नेशनल भोलेन्टियर फोर्सको झापा कमिटी गठन भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला एवं निर्वाचन क्षेत्र समेत रहेको झापामा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स घोषणा गरिएको हो । एमालेको जिल्ला पार्टी कार्यालय झापामा शनिबार आयोजित कार्यक्रमबाट फोर्सको जिल्ला कमाण्डरमा विकास गिरी चयन भएका छन् । सहायक कमान्डरमा भानु सुब्बा र बाबु लिम्बूलाई जिम्मेवारी दिइएको छ ।
नेसनल भोलेन्टियर फोर्सका केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठले झापाको पहिलो जिल्ला नेतृत्व घोषणा गर्दै पदाधिकारीहरूलाई शपथग्रहण गराएका थिए । सो अवसरमा उनले नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गरिने दाबी गरे । उनले देशभित्र भइरहेका विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै देश बनाउने र बिगार्ने शक्तिबीच भिन्नता छुट्याएर अघि बढ्न युवालाई आह्वान गरे ।
नेसनल भोलेन्टियर फोर्सलाई जिल्लाका टोलटोलमा सुरक्षा दस्ताका रूपमा विस्तार गर्दै लगिने झापा कमान्डर विकास गिरीले बताए । उनका अनुसार अप्ठ्यारो परिस्थितिमा जनसुरक्षामा सहयोग पुर्याउने उद्देश्यले यो फोर्स गठन गरिएको हो ।


















प्रतिक्रिया