काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनले मुख्य सचिव पदबाट अलग हुने निर्णय गरेका हुन् ।
मुख्य सचिव पौडेलले राजीनामा दिएको कुरा पार्टीका एक पदाधिकारीले पुष्टि गरेका छन् । उनका अनुसार पौडेलको राजीनामापछि सचिव प्रकाश शर्माले बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकसम्बन्धी सूचना जारी गरेका थिए ।
नयाँ नेतृत्व चयन भइसकेपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार पहिलोपटक केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी गरिएको छ । उक्त बैठकलाई नयाँ नेतृत्वको पहिलो औपचारिक बैठकका रूपमा हेरिएको छ ।
पार्टी स्रोतका अनुसार, सो बैठकबाट नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी भइरहेको छ । पार्टीभित्र देखिएको लामो आन्तरिक विवाद र नेतृत्व परिवर्तनपछि कांग्रेस नयाँ राजनीतिक दिशातर्फ अघि बढ्ने संकेतका रूपमा यो निर्णयलाई लिइएको छ ।
मुख्य सचिवको राजीनामासँगै पार्टी संगठनात्मक संरचनामा थप फेरबदल हुन सक्ने आँकलन गरिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले स्पष्ट नेतृत्व, रणनीति र सन्देशसहित मैदानमा उत्रिने तयारी तीव्र बनाएको देखिन्छ ।


















प्रतिक्रिया