बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले रुपन्देहीको विकासको अध्ययन गर्न योजनाविद र विज्ञ टोलीलाई आग्रह गरेका छन् ।
“रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,” उनले भने । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष पौडेलले आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले विकासलाई भावनात्मक नारामा सीमित नगरी अध्ययन, योजना र प्राथमिकतामा आधारित बनाइने स्पष्ट पारे । उनले भने, “हामी विकासलाई नारा होइन, नतिजाबाट प्रमाणित गर्छौं, त्यसैले रुपन्देहीको समग्र विकासबारे विज्ञ योजनाविद्हरूले अध्ययन गर्नुपर्छ ।” पौडेलले आफू जनताको सेवक भएर काम गर्ने स्वभावको भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धको महत्वलाई बुझेरै राजनीति गरिरहेको बताए । “जनताको सेवक भएर काम गर्नु मेरो स्वभाव हो, रुपन्देहीबासीको सेवाका लागि म सधैँ तयार छु,” उनले भने ।
उनका अनुसार रुपन्देही-२ लाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको केन्द्रका रूपमा विकास गरिनेछ । “हामी यो क्षेत्रलाई सबैभन्दा विकसित र व्यवस्थित जीवनशैलीको बस्ती बनाउँछौं, यसका लागि स्पष्ट प्राथमिकता निर्धारण गरेर अघि बढ्छौं,” पौडेलले भने । विकासका सूचकका आधारमा आगामी दिनमा रुपन्देही-२ नै सबैभन्दा ठूलो फड्को मारेको क्षेत्र ठहर हुने उनको दाबी छ ।
प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौडेलले जानकारी दिए । “वडास्तरमै सडक, खानेपानी, ढल, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विकासका काम पूरा गर्ने गरी अगाडि बढ्छौं,” उनले भने । एमालेले काम गरेर देखाउने पार्टी भएको उल्लेख गर्दै उनले भने, “हाम्रो पार्टीको विरोध गर्नेहरूले पनि यहाँ विकास भएन भनेर भन्न सक्दैनन् ।”
कार्यक्रममा उनले तिनाउ नदी नियन्त्रण गरी बस्ती सुरक्षित गर्नुपर्ने स्थानीयको माग पूरा गरिने प्रतिबद्धता पनि जनाए । साथै सहुलियतपूर्ण ऋण लगानीमा करिब साढे दुई अर्ब रुपैयाँ लागतमा सिग्नेचर पुल निर्माणको काम अघि बढेको जानकारी दिए । “अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरूले पुलको डिजाइन गरिरहेका छन्, डिजाइन सकिएपछि टेन्डर प्रक्रिया अघि बढ्छ,” उनले भने, “यसका लागि बजेटको कुनै अभाव छैन, स्रोत सुनिश्चित भइसकेको छ ।”
पौडेलका अनुसार निर्माण हुने सिग्नेचर पुलमा पाँच मिटर (१६ फिट) चौडा फुटपाथ, आकर्षक लाइटिङ प्रणाली रहनेछ । “यो पुल केवल आवतजावतको साधन होइन, हरेक साँझ र राति ८-१० हजार मानिसले अवलोकन गर्ने सहरको पहिचान बन्नेछ,” उनले भने ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यालय उद्घाटनसँगै रुपन्देही-२ मा एमालेको चुनावी गतिविधि थप तीव्र हुने देखिएको छ ।

















प्रतिक्रिया