३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

खरानी टक्टक्याउँदै सर्वोकृष्ट नगर बनाउने अभियानमा बुटवल उपमहानगर

मुन्निलालदेखि खेलराजसम्मको गौरवपूर्ण इतिहास



बुटवल । बुटवल उपमहानगरपालिकाले आज ६७ औं स्थापना दिवस मनाउँदै छ । वि.सं. २०१६ साल फागुन ३ गते तत्कालिन बटौली बजारलाई बुटवल-खस्यौली नगरपालिका नाम राखिएपछि हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ ।

स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको बुटवलले आज मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

विगतका वर्षहरूमा भव्य समारोहसहित मनाइँदै आएको स्थापना दिवस यस वर्ष भने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएका कारण सामान्य र संक्षिप्त रूपमा मनाइने भएको पाण्डेयले बताए । उनले विगत वर्षहरूमा हासिल गरिएका प्रमुख उपलब्धिहरू स्थापना दिवसकै अवसरमा सार्वजनिक गरिने पनि बताए ।

उनका अनुसार “उज्यालो बुटवल” अभियान अन्तर्गत नगरका मुख्य चोक तथा सडक क्षेत्रमा एक सातासम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त अभियानले शहरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दीर्घकालीन लक्ष्यलाई थप सुदृढ बनाएको उनको भनाइ छ । साथै, उज्यालो शहर निर्माण अभियान अन्तर्गत सरसफाइ, हाईमास्ट बत्ती जडान तथा विभिन्न पूर्वाधार विकासका कामहरू प्रभावकारी रूपमा अघि बढाइएको पनि उनले जानकारी दिए ।

नगर प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, सांस्कृतिक तथा सभ्यताको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै जितगढी किल्ला र पुरानो बटौली क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए । बुटवललाई शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम भइरहेको उनले स्पष्ट पारे ।

त्यसैगरी, उपप्रमुख सावित्रा आर्यालले आगामी वर्षमा महिला लक्षित कार्यक्रमहरूलाई थप प्रभावकारी बनाइने जानकारी दिइन् । उनले शिक्षाको गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको पनि बताइन् ।

उपमहानगरपालिकाले स्थापना दिवसलाई उपलब्धिमूलक, सन्देशमूलक र विकासमुखी कार्यक्रममार्फत मनाउँदै बुटवललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित नगरका रूपमा पहिचान दिलाउने लक्ष्य लिएको जनाएको छ। बुटवल उपमहानगरपालिका आव २०८१/८२ को कार्यसम्पादन मूल्यांकनमा उपमहानगर मध्य सर्वोकृष्ट बन्न सफल भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भवनको पुनः निर्माण गरेर खरानी टक्टकाउँदै भोलिका दिनमा बुटवललाई बस्न लायकको अब्बल नगर बनाउने अभियानमा आफु दृढसंकल्पित रहेको नगर प्रमुख पाण्डेय बताउँछन् ।

मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६-२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९-२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४-२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६-२०२८ साल र पुनः २०३३ देखि २०३६ साल), हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं. (२०३०), बृजमान श्रेष्ठ (२०३६-२०३९) प्रधानपञ्च थिए ।

प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९-२०५३) र भोजप्रसाद श्रेष्ठ (२०५४-२०५९) नगरप्रमुख थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए । माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बने पनि लोकतन्त्र स्थापना पछिको सरकारले निर्वाचनलाई नै खारेज गरेको थियो ।

१५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोस्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भएका थिए ।

बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म

पञ्चायती व्यवस्थामा बुटवल-खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख सहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजारभन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजारलाइनमा सर्यो । खस्यौलीमा पूर्वाधार थपिदैँ गएपछि बजारले बुटवल सहरको रुप लियो । बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो ।

बिक्रम सम्बत १९७५ रिच फाउले खिचेको बुटवलको तस्वीर

५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने थलो बटौली थियो बुटवल उप(महानगरपालिकाभित्रको जनसंख्या करिब २ लाखको हाराहारीमा छ । औपचारिक बसोबासीको संख्या करीब २ लाख भएपनि अनौपचारिक रुपमा यहाँ बसोबास गर्नेको संख्या करीब २ लाख रहेको छ ।

बिक्रम सम्बत १९७५ रिच फाउले खिचेको बुटवलको तस्वीर

६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रियस्तरका संरचनाले बुटवलको प्रतिष्ठा बदल्दै गएको छ । देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउँछन् । “यो ५ वर्षमा बुटवल देशकै अगुवा सहरका रुपमा स्थापित हुनेछ,” उनले भने, “बुटवल बर्दघाटदेखि चन्द्रौटासम्मको नेतृत्व गर्ने केन्द्रका रुपमा स्थापित हुने क्रममा रहेको छ ।”

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ३८ बजे

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा

रौतहटमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

वीरगन्ज । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

मुस्ताङ । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार