२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम



बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम सुरु गरिएको छ । जिल्लाका बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा ‘आमा तथा नवजात शिशुका लागि स्वच्छ हावा’ कार्यक्रम सुरु गरिएको हो ।

स्वास्थ्य प्रणाली सुदृढीकरण, घरायसी व्यवहार परिवर्तन तथा स्वच्छ हावा प्रवर्द्धन गर्ने उद्देश्यले सेतो गुराँस बाल विकास केन्द्रले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

बेलायत सरकारको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) अन्तर्गत ‘ब्रेथ इनिसिएटिभ एन्ड इनोभेसन’ परियोजनाको सहयोगमा सञ्चालन हुने यो कार्यक्रम सन् २०२६ सेप्टेम्बरसम्म सञ्चालन हुने परियोजना संयोजक निराजन पोखरेलले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य प्रणाली सुदृढीकरण, व्यवहार परिवर्तन तथा नीतिगत सुधारलाई एकीकृत रूपमा अघि बढाउँदै बुटवल र सैनामैनाका बासिन्दालाई स्वच्छ वातावरण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

कार्यक्रममार्फत स्थानीय तहमा स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने, घरपरिवारको व्यवहारमा सुधार ल्याउने तथा वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत तथा संस्थागत पहललाई एकीकृत रूपमा कार्यान्वयन गरिने बताइएको छ ।

सेतो गुराँस बाल विकास केन्द्रकी कार्यकारी निर्देशक सुमित्रा शर्माका अनुसार कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाह तथा अनुगमन प्रणाली सुदृढ गरिनेछ । साथै गर्भवती महिला र नवजात शिशुका लागि सुरक्षित तथा स्वच्छ वातावरण सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई सशक्त बनाइनेछ ।

त्यसैगरी घरायसी तथा सामुदायिक स्तरमा स्वच्छ चुलो प्रविधिको प्रयोग विस्तार गरिनेछ । स्वच्छ चुलोको प्रयोगले घरभित्र हुने धुवाँजन्य प्रदूषण घटाई वायु गुणस्तर सुधार गर्न सहयोग पुग्ने बताइएको छ ।

बुटवल उपमहानगरपालिकाले गरेको अध्ययनअनुसार वडा नम्बर १६, १७, १८ र १९ मा वायु प्रदूषणको जोखिम बढी देखिएको छ । उल्लेखखित वडामा रहेका गृहिणी तथा बालबालिका वायु प्रदूषणको उच्च जोखिममा रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।

यसैबीच बुटवल र सैनामैनामा कार्यक्रम सुरु गरेको सेतो गुराँस बाल विकास केन्द्रले बिहीबार जनप्रतिनिधिहरूका लागि कार्यशाला पनि आयोजना गरेको थियो । उक्त कार्यशालामा विज्ञहरूले रुपन्देहीमा वायु प्रदूषणको अवस्था काठमाडौंको तुलनामा उच्च रहेको बताएका छन् ।

वातावरण इञ्जिनियर भुषण दाहालका अनुसार वातावरण प्रदूषणको समस्या कुनै एक स्थानको मात्र नभई विश्वव्यापी समस्या हो । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी प्रदूषित वातावरणमा विश्वका ९९ प्रतिशत मानिस बस्न बाध्य रहेको उनले बताए । नेपालमा वायु प्रदूषण मापन गर्ने उपकरणको अभावका कारण प्रदूषणको वास्तविक मात्रा निर्धारण गर्न कठिनाइ हुने पनि उनले बताए ।

उनका अनुसार वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष करिब ४८ हजार पाँच सय मानिसको मृत्यु हुने गरेको छ ।

घरभित्र दाउरा तथा गुईँठाको प्रयोगबाट उत्पन्न हुने धुवाँ, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँ, इन्धनबाट चल्ने सवारीसाधनको उत्सर्जन, फोहोरमैला जलाउने प्रवृत्ति, डढेलो तथा धुलो–धुवाँका कारण वायु प्रदूषण बढिरहेको छ । पछिल्लो समय वर्षा नहुँदा वायुमण्डलमा प्रदूषणको मात्रा झनै उच्च बनेको विज्ञहरूको भनाइ छ ।

‘स्वच्छ हावा पाउनु मानिसको नैसर्गिक अधिकार हो । नेपालको संविधानले पनि स्वच्छ वातावरणलाई नागरिकको अधिकारका रूपमा सुनिश्चित गरेको छ । तर नेपालमा वायु प्रदूषणको जोखिम उच्च छ,’ परियोजना संयोजक निराजन पोखरेलले भने । उनका अनुसार परियोजनामार्फत स्वास्थ्यकर्मीलाई तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ । स्वास्थ्य संस्थाको सेवा सुधार गरिनेछ भने घरघरमा सचेतना कार्यक्रम सञ्चालन गरी वायु प्रदूषणका असर र त्यसबाट बच्ने उपायबारे जानकारी दिइनेछ । साथै नीतिगत सुधार, योजना निर्माण तथा सुशासनका लागि पनि पहल गरिनेछ ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बसन्त भट्टराईले ऊर्जा, वातावरण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष ज्ञानप्रसाद रेश्मीले वायु प्रदूषण बढिरहेका बेला सञ्चालन गरिएको यस्तो परियोजना महिला तथा बालबालिकामात्र नभई सम्पूर्ण नागरिकका लागि उपयोगी हुने बताउँदै स्थानीय जनप्रतिनिधिको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ९ : १५ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात