५ बैशाख २०८३, शनिबार | April 18, 2026

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु



ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो ।

कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ । पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म रहेको उनले जानकारी दिए । गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका घुन्सा चेकपोस्टले जनाएको छ ।

कञ्चनजङ्घा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन् । पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर र काठमाडौँबाट हवाईमार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ ।

पर्यटकलाई लक्षित गर्दै कञ्चनजङ्घा पदमार्गमा सानाठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा करिब रु सात करोडभन्दा बढी लगानीमा ‘सिङ्गी नामजोंग होटल’ सञ्चालनमा आएको छ ।

समुद्री सतहबाट तीन हजार ५०० देखि चार हजार ५०० मिटर उचाइसम्म रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेका घुन्सा चेकपोस्टका पर्यटन सहायक शेर्पाले जानकारी दिए । उनका अनुसार अन्य होटलहरूमा पनि करिब रु ८० लाखभन्दा बढी लगानीका छन् ।

सदरमुकाम फुङ्लिङ बजारमा पर्यटक लक्षित गरी ठूला लगानीका होटलहरू सञ्चालनमा आएका छन् । पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित बनेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ । घुन्सा, फले र याम्फुदिन क्षेत्रका अधिकांश घरपरिवार पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका पर्यटन सहायक शेर्पाले बताए ।

उनका अनुसार कोही होटल सञ्चालन गरेर स्वरोजगार बनेका छन् भने कोही पर्यटक मार्गदर्शक वा सहयोगीका रूपमा आयआर्जन गर्दै आएका छन् । खेतीपातीका सम्भावना कम भएकाले पछिल्लो समय युवापुस्ता पशुपालनभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित देखिएका उनको भनाइ छ ।

सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो आरोहण भएको इतिहास छ । विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यस क्षेत्रको भ्रमण अवधि अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ । यस क्षेत्रमा चैत, वैशाख, जेठ तथा असोज, कात्तिक र मङ्सिरमा पर्यटकको चाप बढी हुने गर्दछ ।

हिमाल आरोहण भने मुख्यतः वैशाख र जेठमा हुने पर्यटन सहायक शेर्पाले जानकारी दिए । यहाँ जापान, जर्मनी, अष्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट पर्यटक आउने गरेका छन् । साथै भारत र चीनबाट पनि कम सङ्ख्यामा पर्यटक भ्रमण तथा आरोहणका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १२ : ४२ बजे

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु

ताप्लेजुङ । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा

बलियो पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अघि बढौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध

‘अनलाइन’बाट दर्ता गर्नेको सङ्ख्यामा वृद्धि

जुम्ला । राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा ‘अनलाइन’बाटै नाम दर्ता