६ बैशाख २०८३, आइतबार | April 19, 2026

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट



काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।

आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए ।

टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी नोभेम्बरमा कोप-३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : ०० बजे

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम

वीरगञ्जमा मेनरोड विस्तार सुरु, बिहानैदेखि डोजर अभियान

वीरगञ्ज । वीरगञ्जमा त्रिभुवन राजपथ अन्तर्गतको मुख्य सडक (मेनरोड) विस्तार