इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा अमेरिकी सैन्य क्षमताले कसरी काम गर्छ भन्ने बुझ्ने अवसर दिएको छ । साथै, कुनै पनि युद्धभूमिमा अन्ततः विपक्षी पक्षको पनि निर्णायक भूमिका हुन्छ भन्ने कुरा फेरि स्मरण गराएको छ ।
सीएनएनले चीन, ताइवान तथा अन्य स्थानका विभिन्न विज्ञहरूसँग कुरा गर्दै पछिल्ला दुई महिनामा फारसको खाडी वरपर भएको युद्धले बेइजिङ र वासिङ्टनबीच सम्भावित द्वन्द्वमा के संकेत दिन सक्छ भन्ने विषयमा विश्लेषण गरेको छ ।
विज्ञहरूले चीनले आफ्ना शक्ति, सीमित युद्ध अनुभव तथा युद्धका सम्भावित परिणामबारे अत्यन्त संकुचित दृष्टिकोण राखेमा त्यसले गलत निष्कर्ष निकाल्न सक्ने चेतावनी दिएका छन् ।
चीनको वायुसेनाका पूर्व कर्णेल फु छियानशाओका अनुसार, हालसम्मको युद्धबाट उनले लिएको मुख्य पाठ भनेको ‘जनमुक्ति सेना’ (PLA)ले आफ्नो प्रतिरक्षालाई बेवास्ता गर्न नहुने हो । उनले इरानले प्याट्रियट वा टर्मिनल हाई–अल्टिच्युड एरिया डिफेन्स (THAAD) जस्ता अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्ने उपाय फेला पारेको उल्लेख गरे । “भविष्यका युद्धमा अजेय रहन हामीले आफ्ना प्रतिरक्षा कमजोरीहरू पहिचान गर्न उल्लेखनीय प्रयास गर्नुपर्छ,” फुले सीएनएनसँग भने ।
पछिल्ला वर्षहरूमा पीएलएले आक्रमण क्षमता तीव्र रूपमा विस्तार गरेको छ । उसले अवरोधक प्रणालीलाई छल्न सक्ने हाइपरसोनिक ग्लाइड भेहिकलसहितका क्षेप्यास्त्र र ती प्रहार गर्न सक्ने प्लेटफर्म थपेको छ ।
पीएलए वायुसेनाले पाँचौँ पुस्ताका स्टेल्थ लडाकु विमान तीव्र गतिमा थपिरहेको छ । बेलायती थिंक ट्यांक RUSI का अनुसार, चीनसँग करिब १,००० वटा J–20 लडाकु विमान हुनेछन्, जुन अमेरिकी F-35 को समकक्ष मानिन्छ ।
चीनले अमेरिकी B-2 वा B-21जस्तै लामो दूरीका स्टेल्थ बमवर्षक विमान पनि विकास गरिरहेको छ । तर, यसको प्रतिरक्षा पक्ष भने अर्को विषय हो ।
विश्लेषकहरूका अनुसार, इरानले तुलनात्मक रूपमा साधारण प्रविधि प्रयोग गरेर अमेरिकी वायु प्रतिरक्षा प्रणाली भेद्न सफल भयो । यसमा कम लागतका शाहेद ड्रोन तथा सस्ता ब्यालिस्टिक मिसाइल प्रयोग भएका थिए ।
उता अमेरिकाले F-35 र B-2 जस्ता अत्याधुनिक हतियारसहित, B-1, B-52 र F-15 बाट खसालिने सस्ता तर निर्देशित बमहरूको संयोजन प्रयोग गर्दै इरानमाथि हवाई आक्रमण ग-यो । ती आक्रमणले मिसाइल लन्चरदेखि नौसैनिक जहाज र पुलसम्म ध्वस्त बनाएका छन् ।
फुका अनुसार, बेइजिङले पनि यस्तै मिश्रित युद्ध रणनीतिको तयारी गर्नुपर्छ । “हामीले आफ्ना प्रमुख संरचना, विमानस्थल र बन्दरगाहलाई आक्रमण तथा छापाबाट कसरी जोगाउने भन्ने विषयमा अझ गहिरो अध्ययन गर्नुपर्छ,” उनले भने ।

ताइवान जलडमरूमा सम्भावित द्वन्द्व
अमेरिका–चीन सम्भावित युद्धको सन्दर्भमा ताइवानलाई प्रायः प्रमुख ‘फ्ल्यासप्वाइन्ट’ अर्थात् विस्फोटक बिन्दुका रूपमा हेरिन्छ ।
चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ताइवानसँग “पुनर्मिलन” गर्ने वाचा गर्दै आएको छ, यद्यपि उसले कहिल्यै ताइवानमाथि शासन गरेको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सैन्य बल प्रयोग गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् ।
ताइवानका विश्लेषकहरूका अनुसार, चीनले अहिले यस्तो सैन्य शक्ति निर्माण गरेको छ जसले उच्च प्रविधियुक्त अमेरिकी हतियार तथा इरानले प्रयोग गरेको कम लागत, ठूलो संख्यामा ड्रोन युद्ध – दुवै शैली अपनाउन सक्छ ।
ताइवानको राष्ट्रिय रक्षा तथा सुरक्षा अनुसन्धान संस्थानका अनुसन्धानकर्ता चिएह चुंगका अनुसार, “लामो दूरीका रकेट र ड्रोनहरूको झुण्डले ताइवानविरुद्ध चीनको संयुक्त सैन्य अभियानमा निश्चित रूपमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” तर, के त्यति मात्रले युद्ध जित्न पर्याप्त हुन्छ ?
चीन विश्वकै सबैभन्दा ठूलो ड्रोन उत्पादक राष्ट्र हो । विश्लेषकहरूका अनुसार, उसका उद्योगहरूले उत्पादन गर्न सक्ने मानवरहित हतियार प्रणालीको संख्या अत्यन्त विशाल छ ।
‘वार अन द रक्स’ नामक विश्लेषणात्मक प्लेटफर्मको २०२५ को प्रतिवेदनअनुसार, “चीनका नागरिक उत्पादन कम्पनीहरूले एक वर्षभित्रै आफूलाई पुनर्संरचना गरेर वार्षिक एक अर्ब हतियारयुक्त ड्रोन उत्पादन गर्न सक्छन् ।”
कतिपयले ताइवान त्यस्तो स्तरको चुनौती सामना गर्न तयार नरहेको चेतावनी दिएका छन् ।
हालै सरकारी निगरानी निकायले सार्वजनिक गरेको प्रतिवेदनमा ताइवानको वर्तमान ड्रोन प्रतिरोध प्रणाली “अप्रभावकारी” रहेको र त्यसले महत्वपूर्ण पूर्वाधार तथा सैन्य अड्डामा “गम्भीर सुरक्षा जोखिम” उत्पन्न गरेको उल्लेख छ । यद्यपि ताइवान निष्क्रिय छैन । उसले ती प्रतिरोध क्षमता सुधार्न कदमहरू चालिरहेको छ ।
ताइवानको प्रमुख ड्रोन निर्माता कम्पनी ‘थन्डर टाइगर’का प्रबन्ध निर्देशक जिन सुले ड्रोनको ठूलो मात्रामा उत्पादन गर्ने क्षमता विस्तार गर्न थप लगानीको आवश्यकता औँल्याए । “हामीले शत्रुको सामना गर्न दिनरात निरन्तर उत्पादन गर्नुपर्छ,” उनले भने ।
अमेरिकाले पनि सिकिरहेको छ । प्रशान्त क्षेत्रमा सम्भावित युद्धमा आफू आक्रमणकारी नभई प्रतिरक्षकको भूमिकामा हुन सक्ने बुझाइ अमेरिकामा बढ्दै गएको छ ।

अमेरिकी इन्डो-प्यासिफिक कमाण्डका प्रमुख एडमिरल सामुएल पापारोले अप्रिलमा अमेरिकी सिनेट सुनुवाइमा भनेका थिए, “ड्रोनहरूले आक्रमणकारी पक्षका लागि युद्धलाई धेरै महँगो बनाइदिन्छन् ।”
यदि ताइवानमाथि युद्ध भयो भने, ताइवान वा अमेरिकाले ड्रोन प्रयोग गरेर चीनका जहाज वा विमानलाई निशाना बनाउन सक्छन्, जुन जहाजले सम्भावित रूपमा सयौँ हजार पीएलए सैनिक ताइवान जलडमरूमार्फत लैजाँदै गरेका हुनेछन् ।
प्रत्येक जहाज वा विमान र त्यसमा सवार सैनिकहरूको लागत, तिनीहरूलाई ध्वस्त पार्न प्रयोग गरिने ड्रोनको तुलनामा अत्यन्त महँगो हुन्छ । यही मभतभचचभलअभ अर्थात् रोकथामको प्रभाव इरान युद्धमा पनि देखिएको छ, जहाँ अमेरिकी नौसेनाले इरानको असममित युद्ध रणनीतिबाट सावधानी अपनाउँदै फारसको खाडीभित्र होर्मुज जलडमरू हुँदै जहाज पठाउन निकै कम गरेको छ ।
बेइजिङले सम्भवतः पापारोको त्यो अवधारणा पनि नोट गरेको छ, जसमा उनले ताइवान जलडमरूमा हजारौँ ड्रोन आकाश, समुद्र र समुद्रभित्र तैनाथ गरेर चिनियाँ सेनालाई लक्षित गर्नुपर्ने बताएका थिए, ताकि पीएलएलाई ताइवानतर्फ अघि बढ्न कठिन होस् ।
शत्रु पनि सिकिरहेको हुन्छ
इरान युद्धबाट सबै सेनाले सिक्नुपर्ने मुख्य कुरा यही हो — तपाईंको शत्रु पनि सिकिरहेको हुन्छ र उसले ती पाठ तपाईंले नसोचेको तरिकाले प्रयोग गर्न सक्छ ।
इरान युद्ध सुरु भएको दुई महिनापछि पनि धेरै विश्लेषकहरू अचम्मित छन् कि वासिङ्टनका युद्धकालीन नेताहरूले इरानले होर्मुज जलडमरू बन्द गर्न सक्ने सम्भावनालाई पर्याप्त रूपमा किन आँक्न सकेनन ?
कतिपयले इरानमाथि यति ठूलो सैन्य प्रहार हुँदाहुँदै पनि त्यहाँको सरकार कसरी टिकिरहेको छ भन्ने प्रश्न उठाइरहेका छन् । तर उनीहरूले चीनका लागि स्पष्ट पाठ पनि देखिरहेका छन् ।
‘फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज’ (FDD) का वरिष्ठ अनुसन्धानकर्ता क्रेग सिंगलटनका अनुसार, “रणनीतिक जितले राजनीतिक परिणाम सुनिश्चित गर्दैन ।”
“सैन्य दबाबले स्थायी राजनीतिक समाधान स्वतः ल्याउँदैन । चीनका लागि यसले एउटा मुख्य पाठ दिन्छ – युद्धभूमिको सफलता मात्रै अन्तिम लक्ष्य प्राप्तिको ग्यारेन्टी होइन ।”

अर्को महत्वपूर्ण कुरा भनेको – चिनियाँ सेनासँग वास्तविक युद्ध अनुभव छैन । पीएलएले सन् १९७९ मा भियतनामसँगको युद्धपछि कुनै ठूलो युद्ध लडेको छैन । त्यसयता अमेरिकी सेनाले इराकमा दुईपटक, अफगानिस्तानमा दीर्घकालीन अभियान तथा कोसोभो र पानामाजस्ता स्थानमा विभिन्न सैन्य कारबाही सञ्चालन गरिसकेको छ ।
चिनियाँ सैन्य विश्लेषक सोङ जोङपिङले इरान युद्धलाई “वास्तविक युद्धको नमुना” भनेका छन् ।
यदि आगामी दशकभित्र चीन र अमेरिकाबीच युद्ध भयो भने वासिङ्टनसँग अहिलेको फारस खाडी युद्ध वा त्यसको रणनीतिक योजना निर्माणमा सहभागी अनुभवयुक्त ठूलो जनशक्ति हुनेछ ।
उनीहरूले सहकर्मी गुमाएका छन्, सैन्य साधन गुमाएका छन्, निर्णायक विजय हासिल गरेका छन् र उच्चस्तरीय सटीक युद्ध सञ्चालन गरेका छन् । त्यससँगै, उनीहरूले युद्धअनुसार रणनीति परिवर्तन पनि गरेका छन् — जस्तै, तीव्र हवाई आक्रमणबाट इरानी बन्दरगाह नाकाबन्दीतर्फ मोडिनु वा AWACS राडार विमान गुमेपछि विमान आश्रयस्थल थप सुदृढ बनाउनु ।
तर, यस्तै परिवर्तनशील युद्धभूमिमा पीएलए कति छिटो अनुकूल हुन सक्छ भन्ने कुरा अझै स्पष्ट छैन ।
सिंगापुरस्थित एस. राजारत्नम अन्तर्राष्ट्रिय अध्ययन विद्यालयका वरिष्ठ अनुसन्धानकर्ता ड्रु थम्पसनले कोरियाली युद्धको उदाहरण दिए, जुन अमेरिका र चीनबीचको अन्तिम प्रत्यक्ष युद्ध थियो ।
त्यतिबेला चीनसँग सोभियत निर्मित MiG-15 जेट थिए, जुन अमेरिकी F-86 भन्दा उन्नत मानिन्थ्यो । तर दोस्रो विश्वयुद्धको अनुभव भएका अमेरिकी पाइलटहरूले कम क्षमतायुक्त विमान उडाउँदा पनि राम्रो प्रदर्शन गरे ।
थम्पसनका अनुसार, “साधारण विमानमा उत्कृष्ट पाइलट सधैँ उत्कृष्ट विमानमा साधारण पाइलटभन्दा शक्तिशाली हुन्छ ।”
इरान युद्धबाट अर्को पाठ के पनि स्पष्ट हुन्छ भने, विश्व शक्तिहरू संलग्न युद्धहरू सधैँ छिटो र व्यवस्थित रूपमा समाप्त हुँदैनन् ।
“इरानले महत्वपूर्ण समुद्री मार्ग प्रयोग गरेर विश्वव्यापी आपूर्ति शृंखलामा जोखिम सिर्जना गर्न सक्ने क्षमताले एउटा स्थानीय युद्ध कसरी अन्तर्राष्ट्रिय संकटमा बदलिन सक्छ भन्ने देखाएको छ,” FDD का सिंगलटनले भने ।
“चीनका लागि यो चेतावनी हो कि ताइवानसम्बन्धी कुनै पनि युद्धले तुरुन्तै विश्व व्यापार, ऊर्जा आपूर्ति र तेस्रो पक्षका राष्ट्रहरूलाई असर पार्न सक्छ र त्यसको परिणाम कल्पना गर्नसमेत कठिन हुन सक्छ ।”
सीएनएनमा प्रकाशित




















प्रतिक्रिया