काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवल आज विश्वासको मत लिँदैछन् । यसका लागि बिहान ११ बजे मधेश प्रदेशसभाको बैठक बोलाइएको छ।
सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले नेपालको संविधानअनुसार विश्वासको मत लिन लागेका हुन्। वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले आज जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो।
कानुनी व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। हाल मधेश प्रदेश सभामा १०२ जना सदस्य रहेका छन्। सरकार टिकाउन कम्तीमा ५२ जना सांसदको समर्थन आवश्यक पर्छ।
हाल सरकारसँग ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ। सरकारलाई नेपाली कांग्रेसका २२ जना, जनता समाजवादी पार्टि नेपालका २६ तथा नेकपा एमालेका १५ जना सांसदको समर्थन रहेको छ। यस आधारमा मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ।
यता, जनमत पार्टीले भने आफ्ना प्रदेशसभा सदस्यलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले जारी गरेको निर्देशनमा सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न भनिएको छ।
समर्थन फिर्ता लिएपछि जनमत पार्टीभित्र आन्तरिक असन्तुष्टि देखिएको छ। पार्टीले सरकारबाट बाहिरिने निर्णय गरे पनि जनमतबाट सरकारमा सहभागी अर्थमन्त्री महेशप्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवहा अझै पदमै कायम रहेका छन्।




















प्रतिक्रिया