काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिक गोली चलेपछि सुरक्षा निकायहरू उच्च सतर्कतामा रहेका छन् । घटनापछि ह्वाइट हाउस परिसरमा रहेका पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) का निर्देशक काश पटेलले घटनाको पुष्टि गरेका छन् । बीबीसीका अनुसार घटनामा हालसम्म दुई जना घाइते भएका छन् ।
घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै रहेका थिए । अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको बताएका छन् ।
स्रोतहरूका अनुसार एक व्यक्तिले अमेरिकी सिक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेपछि एजेन्टहरूले पनि जवाफी फायरिङ गरेका थिए । घटनाका क्रममा १५ देखि ३० राउन्डसम्म गोली चलेको बताइएको छ ।
गोली चलेलगत्तै अमेरिकी सुरक्षा एजेन्सीहरूले ह्वाइट हाउस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएका छन् । सिक्रेट सर्भिसले तत्काल ह्वाइट हाउस कम्प्लेक्सको ‘नर्थ लन’ खाली गराएको थियो ।
त्यसैगरी ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूलाई प्रेस ब्रिफिङ कक्षभित्र सुरक्षित रहन निर्देशन दिइएको थियो । सुरक्षाको कारण देखाउँदै केही समय कसैलाई पनि बाहिर निस्किन अनुमति दिइएको थिएन ।
अमेरिकी सिक्रेट सर्भिसले सामाजिक सञ्जालमार्फत १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिक गोली चलेको सूचना प्राप्त भएको जनाएको छ । उक्त स्थान ह्वाइट हाउसबाट करिब एक ब्लक दूरीमा रहेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।




















प्रतिक्रिया