काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको सोमबारको बैठक पुनः प्रभावित भएको छ। प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर जारी विरोधपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै अवरोध कायम राखेका थिए। उनीहरूले प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्ति प्रतिनिधिसभाको अभिलेखबाट हटाउनुपर्ने तथा सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग दोहोर्याएका छन्।
विपक्षी सांसदहरूको निरन्तर विरोधका बीच बैठक सञ्चालन गर्न कठिन भएपछि सभामुख अर्यालले दलहरूबीच थप परामर्शको अवसर दिन बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उक्त विषयलाई लिएर संसदमा लगातार अवरोध भइरहेको छ भने सत्तापक्ष र विपक्षीबीच सहमति जुटाउने प्रयास जारी छ।
यद्यपि सोमबारसम्म पनि विवाद समाधान हुन नसकेपछि संसदको नियमित कार्यसूची प्रभावित बनेको छ।



















प्रतिक्रिया