काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक रूपमा काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
सोमबार बिहान करिब ७:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै फर्काइएको हो ।
प्राविधिक समस्या पहिचान भएपछि जहाजलाई आपत्कालीन सतर्कतासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारले जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको र अवस्था सामान्य रहेको जानकारी दिए। उनका अनुसार जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् ।
जहाजमा देखिएको प्राविधिक समस्याबारे विस्तृत परीक्षण भइरहेको छ । प्रभावित यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको सम्बन्धित पक्षले जनाएको छ ।
घटनापछि केही समय उडान व्यवस्थापनमा सामान्य प्रभाव परेको भए पनि विमानस्थलको नियमित सेवा सञ्चालनमा रहेको बताइएको छ ।



















प्रतिक्रिया