काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक गोलको मद्दतमा पोर्चुगल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा शुक्रबार बिहान भएको रोमाञ्चक अन्तिम-३२ को खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
यो जितसँगै पोर्चुगलले क्वाटरफाइनल प्रवेशका लागि युरोपेली च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको छ । इन्जुरी समयमा क्रोएसियाले गरेको एक गोललाई भिडियो सहायक रेफ्रीको समीक्षा पछि अफसाइड ठहर गरिएपछि केहीबेर मैदानमा विवादसमेत भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा परेको पोर्चुगलले ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्यायो ।
खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिँदै गर्दा पोर्चुगलका प्रशिक्षकले ८१औँ मिनेटमा रोनाल्डोलाई मैदानबाट बाहिर निकालेर युवा खेलाडीलाई अवसर दिएका थिए । खेलको महत्त्वपूर्ण क्षणमा रोनाल्डोलाई प्रतिस्थापन गर्ने निर्णयले व्यापक चर्चा पायो । पूर्व खेलाडी स्टीफन वार्नकले भने, “नामभन्दा पनि खेलको गति र रणनीतिका हिसाबले यो पूर्ण रूपमा सही निर्णय थियो ।”
प्रशिक्षकको यही रणनीति अन्ततः सफल सावित भयो । नियमित समयपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसमा गोन्सालो रामोसले आकर्षक हेडमार्फत गोल गर्दै पोर्चुगललाई २-१ को जित दिलाए ।
रामोसको निर्णायक गोलसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाउँदा क्रोएसियाको विश्वकप यात्रा भने यही चरणमा टुङ्गिएको छ । अब आगामी सोमबार हुने प्रि-क्वार्टरफाइनलमा पोर्चुगलले अस्ट्रियालाई हराएर उच्च मनोबलमा रहेको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।



















प्रतिक्रिया