३० असार २०८३, मंगलबार | July 14, 2026

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो



तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस पवित्र स्थल ओझेलमै पर्छ ।

नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पु¥याउने आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका-४ चुँदीरम्घा हरेक वर्ष असार २९ गतेको वरिपरि मात्रै चर्चामा आउने गरेको छ । बाँकी समय भने यो ऐतिहासिकस्थल अपेक्षाकृत सुनसान रहने स्थानीयको गुनासो छ ।

स्थानीय स्थानीय सन्देश आचार्यले भानुभक्तको नामले देशभर सम्मान गरिए पनि उनको जन्मस्थलले अझै पनि अपेक्षित प्राथमिकता पाउन नसकेको बताए । “जयन्तीका बेला सबै आउँछन्, भाषण गर्छन्, योजना सुनाउँछन् । कार्यक्रम सकिएपछि फेरि सबै हराउँछन् । वर्षभर जन्मथलो सुनसान नै हुन्छ”, उनले गुनासो गरे ।

भानु जयन्तीका अवसरमा विभिन्न साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विद्यालयका विद्यार्थीदेखि साहित्यकारसम्मको उपस्थिति रहने यस अवसरमा जन्मथलो केही दिनका लागि मात्रै जीवन्त बन्छ । तर स्थायी रूपमा पर्यटन र साहित्यिक गतिविधि सञ्चालन हुन नसक्दा त्यसको प्रभाव केही दिनमै हराउने गरेको उनको भनाइ छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदीरम्घालाई अन्तरराष्ट्रियस्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्ने महत्वाकाङ्क्षी योजना कार्यान्वयनको चरणमा पुगेको बताए । यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि रु २४ करोडभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उनले बताए ।

“हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ”, उनले भने, “यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ । बजेट सुनिश्चित भइसकेकाले अब निर्माण कार्यले गति लिन्छ ।”

गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोही क्षेत्रमा बहुआयामिक साहित्यिक संरचना निर्माण गरिनेछ । चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन निर्माण हुनेछ । उक्त भवनभित्र आदिकवि भानुभक्तको जीवन, साहित्यिक योगदान र ऐतिहासिक सामग्रीलाई चित्र, अभिलेख तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ ।

त्यसैगरी भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना छ । यो प्रतिमा चुँदीरम्घाको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ ।

गुरुयोजनामा नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने मूर्तिवाटिका निर्माण गर्ने योजना पनि समेटिएको छ । त्यहाँ विभिन्न साहित्यिक व्यक्तित्वका प्रतिमा स्थापना गरिनेछ । साथै भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल, पार्किङ क्षेत्र लगायतका संरचना निर्माण गरिनेछ ।

यससँगै सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्मको सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना पनि अघि बढाइएको छ । यी संरचनाले चुँदीरम्घालाई धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यो योजना घोषणा मात्रै होइन, समयमै कार्यान्वयन हुनु अझ महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । गुरुयोजना पूरा भए चुँदीरम्घामा वर्षभर पर्यटक, साहित्यकार र अध्ययन अनुसन्धान गर्नेहरूको आवागमन बढ्ने स्थानीय शङ्कर रानाभाटले बताए । त्यसले स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : ०१ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१