बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काइदिएको छ । एसएसबीले बाँध भत्काएसँगै सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीयको प्रतिवादका क्रममा भएको झडपमा तीन जना नेपाली घाइते भएका छन्।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजेतिर करिब ५० देखि ६० जनाको संख्यामा सादा पोसाकमा हतियारसहित प्रवेश गरेका थिए । सुस्ता गाउँपालिका–५ स्थित थारु टोल क्षेत्रमा प्रवेश गरेका उनीहरूले निर्माणाधीन १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएपछि तनाब उत्पन्न भएको थियो ।
भारतीय सुरक्षाकर्मी दुई देशको सीमा संकेत मानिने सिमली (सिमल) रुखभन्दा करिब ३०० देखि ४०० मिटर नेपालतर्फ प्रवेश गरेका थिए। स्थानीयले विरोध गरे पनि हतियारसहित आएका उनीहरुले धम्क्याउँदै बाँध भत्काएका थिए । त्यसपछि प्रतिवादमा उत्रिएका नेपाली नागरिकलाई उनीहरुले कुटपिट गर्दा तीन जना नेपाली घाइते भएका छन् ।
घटनापछि थप अप्रिय अवस्था सिर्जना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) को टोली घटनास्थलमा परिचालन गरिएको छ। अहिले क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जनाइएको छ।

















प्रतिक्रिया