२२ आश्विन २०८३, बिहिबार | October 9, 2026

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । वडाध्यक्ष धोवीसहित चार जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा नक्कली करारनामा तयार गरी प्रमाण सिर्जना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर तथा नेपालगन्ज–२० का रविन्द्र लामिछाने र उदयपुर चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

वडाध्यक्ष धोवी र वडा सचिव थापामगरले पदको दुरुपयोग गरी वडा कार्यालयका सरकारी अभिलेखमा रहेको लिखत प्रमाणित दर्ता किताबमा फेरबदल गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । आयोगका अनुसार अनुसन्धानका क्रममा उनीहरूले अन्य प्रतिवादीसँगको मिलेमतोमा गैरकानुनी लाभ लिने–दिने उद्देश्यले सरकारी कागजात सच्याएको खुलेको छ । विशेष अदालतमा विचाराधीन भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका प्रतिवादी रविन्द्र लामिछाने र विकासकुमार चापागाईबीच जग्गा खरिदका लागि भएको भनिएको ७० लाख रुपैयाँको लेनदेनलाई पुष्टि गर्ने उद्देश्यले झुट्टा तथा नक्कली करारनामा तयार गरिएको थियो।

२०७९ साउन १० गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१७ स्थित कित्ता नम्बर ९९८ को १६४.१४ वर्गमिटर जग्गा खरिद प्रयोजनका लागि ७० लाख रुपैयाँ लेनदेन भएको देखाउने गरी करारनामा तयार गरिएको आयोगको अनुसन्धानबाट खुलेको आरोपत्रमा जनाइएको छ । उक्त कागजातलाई प्रमाणित देखाउन नेपालगन्ज उपमहानगरपालिका–२० को आर्थिक वर्ष २०७९र८० को लिखत प्रमाणित दर्ता किताबमा २०८३ सालमा थपघट तथा सच्याउने काम गरिएको आयोगको दाबी छ। त्यस क्रममा हाल प्रयोगमा रहेको वडा कार्यालयको सरकारी छापसमेत दुरुपयोग गरिएको आयोगले जनाएको छ।

त्यस्तै, वडाध्यक्ष धोवी र वडा सचिव थापामगरले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी २०८३ असार २९ गतेको चलानी नम्बर ७२४० को विवरणसमेत फेरबदल गरेको आयोगले जनाएको छ। त्यसपछि चलानी नम्बर ७२४२ मा झुट्टा विवरणसहितको गलत लिखत तयार गरी आयोगको अभिलेखमा रहने गरी पत्राचारसमेत गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगको भनाइ छ। आयोगले सरकारी कागजातमा गलत विवरण थपघट तथा सच्याउने र सरकारी छाप दुरुपयोग गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुर भएको ठहर गरेको छ।

वडाध्यक्ष धोवीविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ९ र ११ बमोजिमको कसुरमा सोही दफाअनुसार कैद तथा जरिवाना सजायको मागदाबी गरिएको छ। वडा सचिव वीरबहादुर थापामगरविरुद्ध दफा ९ बमोजिम कैद तथा जरिवाना सजाय माग गरिएको छ।

त्यसैगरी, रविन्द्र लामिछाने र विकासकुमार चापागाईलाई सरकारी कागजातमा फेरबदल तथा गलत विवरण तयार गर्ने कसुरमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ। उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको आयोगले जनाएको छ। आयोगले चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनका विभिन्न दफाअनुसार सजायको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ८ : ५३ बजे

अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ नापी कार्यालय, डिल्लीबजारअन्तर्गत

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि