काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार सामग्रीसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो।
सर्वोच्चले श्रेष्ठको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सबै सामग्रीसहित उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रहरीले श्रेष्ठको निवासबाट बुधबार राति तथा बिहीबार पुनः खानतलासी गरी सामग्री बरामद गरेको थियो। त्यसैगरी, बिहीबार बिहान झम्सीखेलस्थित जनआस्था कार्यालय र साँझ बागडोल–नख्खु क्षेत्रबाट समेत सामग्री बरामद गरिएको थियो।
प्रहरीले कार्यालयबाट ६ थान कम्प्युटरका सीपीयू र एउटा मनिटर बरामद गरेको जनाइएको छ। निवासबाट भने सिसिटिभी रेकर्डर, मोबाइल तथा बालबालिकाले प्रयोग गर्ने ल्यापटपलगायतका सामग्री लगिएको रिटमा उल्लेख गरिएको छ।
श्रेष्ठलाई गत बुधबार राति निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको थियो।
श्रेष्ठकी पत्नी सरस्वतीले उनलाई बिना आधार र कारण पक्राउ गरिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
रिटका पक्षमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ता रमेश बडाललगायतले बहस गरेका थिए। बहसपछि सर्वोच्चले श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो।


















प्रतिक्रिया