१८ भदौ २०८३, बिहिबार | September 3, 2026

इस्लामावादस्थित नेपाली दूतावास पुगेर पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए समवेदना



इस्लामाबाद। पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले नेपालमा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली बाढीपीडितप्रति पाकिस्तानको ऐक्यबद्धता जनाएका छन्।

प्रधानमन्त्री शहबाज बिहीबार इस्लामाबादस्थित नेपाली राजदूतावास पुगेर नेपालका लागि नेपाली राजदूत रीता धितालसँग भेट गरेका हुन्। उनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।

भेटका क्रममा प्रधानमन्त्री शहबाजले नेपालले भोगिरहेको प्राकृतिक विपत्तिप्रति पाकिस्तान सरकार र पाकिस्तानी जनताको गहिरो दुःख रहेको उल्लेख गर्दै कठिन घडीमा नेपालसँग पाकिस्तान साथमा रहेको सन्देश दिएका थिए। उनले नेपाली राजदूतावासमा राखिएको शोक पुस्तिकामा समेत आफ्नो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेका छन्।

यही भदौ १० गते रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी, पहिरो र हिमतालरहिमनदीसम्बन्धी घटनाबाट रसुवा, नुवाकोटलगायतका क्षेत्र गम्भीर रूपमा प्रभावित भएका छन्। हजारौँ मानिस विस्थापित भएका छन् भने ठूलो संख्यामा मानिस अझै बेपत्ता छन्। उद्धार तथा खोजी कार्य जारी छ।

नेपालमा विपत्ति आएको केही दिनमै पाकिस्तानले नेपाललाई आपत्कालीन राहत सहायता उपलब्ध गराउने घोषणा गरेको थियो।

भदौ १२ गते मा प्रधानमन्त्री शहबाज शरीफले नेपाली प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए। त्यस क्रममा उनले पाकिस्तान सरकार तथा जनताको तर्फबाट नेपालसँग पूर्ण ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पाकिस्तानले त्यसै क्रममा आपत्कालीन राहत सामग्री नेपाल पठाउने प्रक्रिया अघि बढाएको जनाएको थियो। नेपाली प्रधानमन्त्री शाहले पाकिस्तानको सहयोग र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरेका थिए।

नेपालमा बाढी आएको भोलिपल्टै पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफले छुट्टाछुट्टै शोक सन्देश जारी गर्दै नेपाली जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए। उनीहरूले मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको सकुशल उद्धारको प्रार्थना गरेका थिए।

यसैगरी, अगस्ट ३१ मा पाकिस्तानी राष्ट्रपतिको निर्देशनमा पूर्वसिनेट अध्यक्ष सैयद नय्यर बोखारी र राष्ट्रपतिका प्रवक्ता मुर्तजा सोलाङ्गीले पनि इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालप्रति ऐक्यबद्धता तथा समवेदना व्यक्त गरेका थिए। उनीहरूले शोक पुस्तिकामा समेत सन्देश लेखेका थिए।

नेपाल अहिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको ठूलो चुनौतीसँग जुधिरहेको छ। नेपाली सेनाको नेतृत्वमा जारी उद्धार अभियानमा भारत, चीन र दक्षिण कोरियालगायतका देशका प्राविधिक तथा उद्धार टोलीले समेत सहयोग गरिरहेका छन्। विशेषगरी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ।

प्राकृतिक विपत्तिबाट नेपालले ठूलो मानवीय क्षति व्यहोरेका बेला छिमेकी तथा मित्रराष्ट्रहरूबाट प्राप्त मानवीय सहयोग र ऐक्यबद्धताले राहत तथा पुनःस्थापनाका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ८ : २६ बजे

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो

Indian Ambassador Says Rescue Efforts Continue Inside Chilime Tunnel Despite Difficulties

Rasuwa: The Nepali Army and an Indian technical team have