त्यो बिहानले
सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन
भयावह त्रासदी पनि ल्याएको थियोे
इतिहासले कालो पोखेर
आफ्नै बाटो फेरेको थियो।
कयौं सपना सकिए
सभ्यता पुरिए
कयौं बस्ती सकिए
जीवन पुरिए ।

जहाँ सन्नाटा छाएको बखत
खजुराले जीवनको आवाज दियो
देशका विभिन्न कुना कन्दरा
र देहात , मधेसका
घरबार बगेकाहरूलाई
परिवार बिछोडिएकाहरूलाई
चोटैचोटले जर्जर भएकाहरूलाई
बाँडियो जमीन
र साझा फूलबारी बनाइयो खजुरालाई ।
जङ्गलको छायाँभित्र फूलबारी बनेर
नयाँ बस्तीले आँखा खोल्यो।
दीनहीन आर्तहरूको
जिजीविषाको पदचापमा
आँसुको डोब थियो ।
खजुराले तिनै आँसुका डोबमा
आशाको दीप जलायो
प्राणहीन गन्तव्यलाई त्राण दियो ।
कुनै जात भनेन
वर्ग भनेन
लिङ्ग भनेन
एउटै नक्शामा कोरिदियो
समस्त मान्छेको आयतन ,
र लेखिदियो एकताको कथा ।
त्यसै दिनदेखि
खजुरा अङ्कुराउन थाल्यो।
थारुका धड्कनहरू,
मधेसीका लयहरू,
पहाडीका गीतहरू,
मुस्लिमका प्रार्थनाहरू स
सबै सबै मिसिएर फुल्यो मनोहर फूल,
र बन्यो एउटा साझा आकाश
अनि ,विविधताको बूँद समेटेर
इन्द्रेणीझैँ मुस्कुरायो खजुरा ।
खजुरा,
सद्भावको बगैंचा बन्यो
जहाँ भाषा फूलझैँ फुल्छन्,
संस्कृतिहरू
हावासँगै नाच्छन्।
यही माटोका गीतहरूले
सिमाना नाघे,
नृत्यका झाँकीहरू
विश्व रङ्गमञ्चसम्म मञ्चित भए ।
खेलाडीहरूले
पसिनालाई पदक बनाए ।
साहित्यका सारथिहरूले
शब्दगुच्छामा संसार सजाए।
फैलियो खजुराको पहिचान ।
एक समय
उडान भरेको विमानस्थल,
आज स्मृतिको चरा बनेर
आकाशमा घुमिरहन्छ
र भन्छ, ‘चुँडालिएको मञ्जरीमा झनै सुन्दर मुना पलाउँँछ’
आज हेर्नुहोस् त खजुरालाई
सडकहरू नसाझैँ फैलिएका छन्,
विद्युतको उज्यालोले आकाशगंगा बिर्साउँदैछ
इन्टरनेटको अदृश्य सन्जालमा
खजुरा मुस्कुराउँदै
विश्वसँग बोलिरहेको छ।
खेतहरू अब,
पसिनाका प्यासी मात्र छैनन्
उत्पादनमा पुलकित भएर,
प्रविधिसँग खेल्दै विश्वसँग संवाद गर्ने
जीवन्त प्रयोगशाला बनेका छन् ।
सुशील कोइराला क्यान्सर अस्पताल,
पीडाको समुद्रबीच
आशाको टापु बनेर उभिएको छ,
जहाँ यावत जीवनले
हरेक दिन
मृत्युसँग जितेर नयाँ जन्मोत्सव मनाउँछ ।
विश्वविद्यालयले विश्वको क्यानभासमा
विश्ववाङ्मयको अनेकैँ पोट्रेट बनाउँदैछ
पाषाण युगीन लोक कथाको जस्तो
तिलष्मी चमत्कारले होइन
आशा , समर्पण एकता र सद्भावनाले
खजुरा खजुरा बनेको हो
मूलमन्त्र सिकायो खजुराले ,
अपूर्णताले सपना मर्दैन।”
आज म
कलमको नीबबाट
कोर्नेछु समानताको गाथा
खजुराको गौरवमा साक्षी बनेर उभिन्छु
आफ्नै छातिमा
खजुराको नक्शा कोरेर ।
इतिहासको आँसुबाट जन्मिएको
मेरो खजुरा
भोलिको दीप्तप्रकाश हो।
मेरो खजुरा स्
जहाँ हरेक सपना
बीउ बनेर उम्रन्छन्,
र समृद्धिका फूल फक्रिन्छन् ।
आजको खजुरा
बहुआयामिक सभ्यता हो
एकताको प्रतीक हो
मानवताको द्योतक हो
हाम्रो अस्तित्व हो।
जय खजुरा !!
कल्पना पौडेल ‘जिज्ञासु’
खजुरा बाँके नेपाल।
















प्रतिक्रिया