काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाएको छ ।
महाशाखाले जारी गरेको पछिल्लो मौसमी बुलेटिनअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
देशका बाँकी अधिकांश भूभागमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा जलसतह तीव्र रूपमा बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ । जोखिमयुक्त तथा नदी–खोला आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
बाढी तथा डुबानसम्बन्धी सूचना र पूर्वजानकारीका लागि महाशाखाको निःशुल्क टेलिफोन नम्बर ११५५ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १२३४ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।
















प्रतिक्रिया