२० आश्विन २०८३, मंगलबार | October 6, 2026

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान



काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

मनोनयन दर्तापछि अपराह्न ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिनेछ । ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध गर्न सकिनेछ भने बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउनेछन् ।

यसअघि मतदाता नामावली प्रकाशन, नामावलीमाथि दाबी–विरोध, दाबी–विरोधमाथि जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भइसकेको छ । सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्दसत्रबाट पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

निर्वाचन समितिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृह तथा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले भने खुलामञ्चमा मतदान गर्नेछन् । खुलामञ्चमै कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिका लागि समेत मतदानको व्यवस्था गरिने भएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छैन ।

कांग्रेसको संशोधित विधानअनुसार नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहने व्यवस्था गरिएको छ भने कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन् । प्रवक्ता र सहप्रवक्ताको समेत व्यवस्था गरिएको छ ।

केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ जना तथा महिला खुलाबाट १५ जना चयन हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना केन्द्रीय सदस्य रहनेछन् भने उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ । दलिततर्फ पाँच महिलासहित १४ जना, आदिवासी जनजातितर्फ आठ महिलासहित २० जना, खस आर्यतर्फ आठ महिलासहित १८ जना र मधेसीतर्फ पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन् ।

त्यस्तै, नेपाली जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना, पिछडिएको वर्गबाट तीन जना, थारूतर्फ दुई महिलासहित छ जना, श्रमिकतर्फ एक महिलासहित तीन जना र पेशागत विज्ञतर्फ दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय सदस्य रहनेछन् भने अपाङ्गता भएका व्यक्तिबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् । विधानअनुसार केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्नेछ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ४५ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको

लुम्बिनीसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभाग तथा

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको