काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आह्वान गरेका छन्।
आइतबार बिहान अचानक आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्याएको क्षति, घर तथा पुल बगाएको खबरले आफू मर्माहत भएको प्रचण्डले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विपद्मा परेका नागरिकको उद्धार, राहत र सुरक्षाका लागि सबैलाई एकजुट भएर लाग्न आग्रह गरेका हुन्।
‘बूढीगण्डकी नदीमा अकस्मात आएको भीषण बाढीले चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले मर्माहत बनाएको छु,’ प्रचण्डले लेखेका छन्, ‘प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु।’
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहनसमेत अनुरोध गरेका छन्।
आइतबार बिहान बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले चुमनुब्री गाउँपालिका–३ पैयुँ र बगरका करिब ३५ घर बगाएको तथा विभिन्न स्थानका ६ वटा पुलमा क्षति पुर्याएको बताइएको छ।
बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन रहेको विवरणसमेत सार्वजनिक भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको थप विवरण आउन बाँकी छ।
यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट हुन र जोखिमयुक्त नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन प्रचण्डले आग्रह गरेका छन्।
















प्रतिक्रिया