२८ आश्विन २०८३, बुधबार | October 14, 2026

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत



काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। सुनारको नैतिक आचरणमाथि प्रश्न उठ्नुका साथै उनीविरुद्ध महिला हिंसासम्बन्धी उजुरी परेपछि समितिले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

बुधबार बसेको समितिको बैठकमा सुनारको नैतिक चरित्र, राजदूत पदका लागि उपयुक्तता र विगतका विवादबारे छलफल भएको थियो। सुनुवाइपछि समिति सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका हुन्।

सुनारविरुद्ध महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दुःख दिएको आरोपसहित दुईवटा उजुरी परेका थिए। सुनुवाइका क्रममा सांसदहरूले यी विषयलाई गम्भीर रूपमा उठाउँदै राजदूत नियुक्तिका लागि आवश्यक उच्च नैतिक आचरणको प्रश्न गरेका थिए। जर्मनीमा अनुवादकका रूपमा जाँदा भिसा अवधि नाघेर बसेपछि डिपोर्ट गरिएको भन्ने विषय पनि छलफलमा उठेको थियो।

सांसद वर्षमान पुनले सुनारलाई आफ्नो नाम फिर्ता लिन सुझाव दिएका थिए। एमाले सांसद पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरालगायतले पनि उनीमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका थिए।

निर्णय प्रक्रियाअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला शमिम मियाँ मिकरानीले छलफलपछि विभिन्न दृष्टिकोणबाट सुनार राजदूतका लागि उपयुक्त नरहेको धारणा राखेकी थिइन्।

रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सुनारको प्रस्तुति, कागजात र योग्यता राम्रो देखिए पनि पुरानो घटनाका कारण उनको नैतिक चरित्रमाथि प्रश्न उठेको बताएका थिए। दलित समुदायबाट आएर सुनारले सशक्त काम गरेको उल्लेख गर्दै उनले विवादरहित रूपमा देशको प्रतिनिधित्व गर्ने राजदूतको पदका लागि नैतिकताको प्रश्न महत्त्वपूर्ण हुने धारणा राखेका थिए।

सुनारले भने आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका थिए। सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको उनको भनाइ थियो। जर्मनीमा अनुवादकका रूपमा जाँदा ओभरस्टे गरेर डिपोर्ट भएको आरोप पनि उनले अस्वीकार गरेका थिए।

आफूले कुनै हिंसा नगरेको दाबी गर्दै सुनारले राजदूतका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान राखेका थिए। तर, समितिले उनको नाम सर्वसम्मतिले अस्वीकृत गरेपछि साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढ्न सकेन।

सरकारले गत असोज २ गते सुनारलाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अस्वीकृत भएसँगै उनको राजदूत नियुक्ति प्रक्रिया रोकिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : ४४ बजे

‘अब्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०